‘ऊनको स्वीटर’को जादू: हलमा किशोर दर्शकको ओइरो
हाल विश्वभरका सिनेमा हलहरूमा प्रदर्शन भइरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले दर्शकको अभूतपूर्व साथ पाउँदै उत्साहजनक व्यापार गरिरहेको छ। चलचित्रको कलाकार टोली — विपिन कार्की, एलेक्स पारस, परीक्षा लिम्बु, सुजन चापागाईँ र कार्यकारी निर्माता मिलन खत्री — नेपाल भ्रमणमा छन्। उनीहरूले दमौली, पोखरा, बुटवल र चितवनलगायतका सहरमा पुगेका थिए, जहाँ दर्शकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्र हेरेका छन्। दर्शकले कलाकारहरूप्रति देखाएको उत्साह र माया देखेर टोली निकै दङ्ग परेको छ।

चलचित्र युनिटले विशेषगरी किशोर दर्शकहरूको उल्लेखनीय उपस्थिति र प्रतिक्रियाले आफूहरू चकित परेको बताएको छ। सोमबार चितवनको इन्द्रदेव हलमा बिहानी शोमा देखिएको किशोर दर्शकहरूको उर्लदो भीडले निर्माण पक्षलाई अचम्ममा पारेको थियो। न केवल नेपाल, विश्वभरकै युवा पुस्ताले ‘ऊनको स्वीटर’ लाई माया गरिरहेको युनिटको अनुभव छ। कथामा पुस्तान्तरको भावनालाई केन्द्रमा राखिएको यस चलचित्रले सबै उमेरका दर्शकलाई समेट्न सफल भएको छ।

निर्देशक नवीन चौहानले चलचित्रको विषयवस्तु पुरानो पुस्ताको प्रेम र भावनामा आधारित भएकाले सुरुमा नयाँ पुस्ताले कसरी ग्रहण गर्ला भन्ने चिन्ता रहेको तर दर्शकको व्यापक माया देखेर त्यो भ्रम हटेको बताए। उनका अनुसार चलचित्रमा समयभन्दा परको सन्देश बोकेको भावना समेटिएको छ, जसले उमेर, समय र सन्दर्भको सीमा नाघेर सबै पुस्तामा गहिरो प्रभाव छोडेको छ। चलचित्रले पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो भने हाल त्यो संख्या झन् माथि पुगिसकेको छ। कलाकारहरूको देशव्यापी भ्रमण अझै जारी छ।
