चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा
नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको औपचारिक घोषणा गरिएको छ। मंगलबार निर्माणपक्षले थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरेको हो। स्काइफल पिक्चर्सको प्रस्तुति रहने यस चलचित्रलाई बलिराम चौहानले निर्देशन गर्नेछन्। चर्चित चलचित्र ‘बलिदान’ का लेखक तथा मुख्य सहायक निर्देशक रहेका चौहानको यो डेब्यु निर्देशन हुनेछ। चलचित्र सन् २०२५ भित्रै रिलिज हुने निर्देशकले जानकारी दिएका छन्। फिल्मका को–प्रोड्युसरमा रमन ग्रे रहनेछन् भने छायांकन नरेन्द्र मैनालीले गर्नेछन्।

सार्वजनिक थिम पोस्टरमा निलो रंगको बिच भागमा एक बालिका उभिएको देखिन्छ, जसको कम्मरदेखि माथिको पछाडिको भाग मात्रै देखिन्छ। बालिकाको जुङरुङ्ग कपाल र अगाडि फैलिएको निलो बादलजस्तो प्रकाशले कथा मनोवैज्ञानिक वा रहस्यमयी विषयवस्तुसँग सम्बन्धित हुन सक्ने संकेत गर्छ। निर्देशकले फिल्मको कथा वा कलाकारसम्बन्धी विस्तृत जानकारी भने खुलाएका छैनन्। कलाकार चयन प्रक्रिया चलिरहेको जनाउँदै निर्देशक चौहानले केही समयमै लाइनअप सार्वजनिक गरिने बताएका छन्।
