नेपाली चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार एक सांकेतिक दृश्य सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। सार्वजनिक दृश्यमा एक व्यक्ति अस्ताउँदै गएको सूर्यको अगाडि उभिएको देखिन्छ, जहाँ माथिबाट ठूलो हवाइजहाज उडिरहेको छ। दृश्यले पात्रको जीवनमा हुने परिवर्तन, सहर पस्नु, र सम्भावित वैदेशिक रोजगारीको सन्देश दिन खोजिएको बुझिन्छ। यो दृश्यले फिल्मको मूल विषयवस्तु– आमा र छोराबीचको भावनात्मक सम्बन्ध तथा जीवनयात्राको उतारचढावलाई संकेत गर्छ।

‘जनै हराएको बाहुन’ गाउँदेखि सहरसम्मको यात्रामा एक सरल पात्रले भोग्ने चुनौतीपूर्ण परिस्थितिहरू र तिनले ल्याएको परिवर्तनको कथा हो। निर्देशक हिमाल न्यौपानेको डेब्यु निर्देशनमा बनेको यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, र सुशांक मैनालीको मुख्य भूमिका रहेको छ। यस्तै, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, र सुमन थापालगायत कलाकारको पनि सशक्त अभिनय रहनेछ। फिल्मका असोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् भने सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत, फिलिप डिसी, नारायण तिमिसिना र चुडामणि सिवाकोटी छन्। फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। संगीतमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटी छन् भने सिनेमाटोग्राफी नवीन गुरुङ र कृष्ण परियारले गरेका छन्। ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउने यो पहिलो फिल्म हो, जसले यस वर्ष नेपाली बक्स अफिसमा नयाँ हाइप सिर्जना गर्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV