३५ दिनमा सकियो ‘जनै हराएको बाहुन’
नेपाली चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को छायांकन सम्पन्न भएको छ। निर्माणपक्षले सोमबार ललितपुरको च्यासलस्थित एक पार्टी प्यालेसमा भव्य इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमै सम्पूर्ण छायांकन सम्पन्न भएको जानकारी गराएको हो। चलचित्र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न स्थानमा छायांकन गरिएको थियो।
सिनेमाको निर्देशन हिमाल न्यौपानेले गरेका हुन्, जो यस चलचित्रमार्फत निर्देशनमा डेब्यु गर्दैछन्। निर्देशक न्यौपानेले सिनेमाको छायांकन अपेक्षाअनुसार सफल भएको भन्दै पोस्ट प्रोडक्सनमा पनि उत्तिकै मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिने प्रतिबद्धता जनाए। ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थितिहरू र त्यसले ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको छ। चलचित्रले विशेष गरी आमा–छोराबीचको भावनात्मक सम्बन्धलाई चित्रण गर्नेछ।

चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको मुख्य अभिनय रहेको छ। चलचित्रका असोसियट निर्देशक ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत हुन्। इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले विभिन्न कलाकारहरूसँगको सहकार्य रमाइलो रहेको बताए। उनले भने, “केकीसँग पनि काम गरियो, मिरुनासँग पनि। अझै धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्ने मौका मिल्यो। म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ। यो सिनेमामा बुबा–छोराको मात्र होइन, धेरै सम्बन्धको कथा छ। यसले दर्शकको मन छोला भन्ने विश्वास छ।”
त्यस्तै, असोसियट निर्देशक मनिष राउतले सिनेमा जीवनका भोगाइ र सम्बन्धका कथा बुनेको जनाउँदै पात्रहरूले जनैको डोरी झैं सम्बन्धहरू गाँस्ने प्रयास गरेको बताए। पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन्। सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्।

चलचित्रमा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशकका रूपमा छन् भने तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशकका रूपमा संलग्न छन्। संगीतमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको योगदान रहनेछ। डीओपीमा नवीन गुरुङ छन् भने सिनेमाटोग्राफी कृष्ण परियारले गरेका हुन्। सिनेमालाई तीजको अवसर पारेर आगामी भदौमा प्रदर्शन गर्ने तयारी गरिएको छ, यद्यपि निश्चित मिति भने अझै तय भएको छैन।
