‘रिमै’को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गतेदेखि विश्वव्यापी प्रदर्शन
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिएको तीनवटा पोस्टरमार्फत यो सिनेमा आगामी भदौ २७ गते बाट विश्वव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको हो।
सार्वजनिक तीन पोस्टरमध्ये पहिलोमा अभिनेता दयाहाङ राई र रिस्मा गुरुङ प्रस्तुत छन् भने दोस्रो पोस्टरमा उनीहरुसँगै अभिनेत्री गौमाया गुरुङ पनि देखिएकी छन्। तेस्रो पोस्टरमा दयाहाङ, रिस्मा, गौमाया सहित सिनेमाका अधिकांश मुख्य कलाकारहरूलाई प्रस्तुत गरिएको छ। यी पोस्टरहरूमा गुरुङ संस्कार झल्कने ढंगमा पात्रहरूलाई देखाइएको छ। निर्माण टिमले यी पोस्टरहरूले दर्शकमाझ उत्साह र अपेक्षा बढाउने विश्वास लिएको छ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, अर्पण थापा, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ लगायत बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरको अभिनय रहेको छ।

उपेन्द्र सुब्बाको लेखनमा आधारित सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरेका हुन् भने वीरबल घले कार्यकारी निर्माता रहेका छन्। टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता हुन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताको भूमिकामा छन्। सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङ सम्पादक रहेका छन्।
