‘रंगी’ लण्डनका २७ हलमा मे ९ बाट प्रदर्शन
नेपाली चलचित्र ‘रंगी’ आगामी मे ९ तारिखदेखि लण्डनका २७ वटा हलहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्मलाई महारानी प्रोडक्सनका विक्रम जोशीले लण्डनमा प्रदर्शनका लागि जिम्मा लिएका हुन्। जोशीका अनुसार फिल्मले बेलायतको सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरिसकेको छ, जसको अर्थ सबै उमेर समूहका दर्शकहरूले यो चलचित्र हेर्न सक्नेछन्।

यसअघि अष्ट्रेलियाका विभिन्न शहरहरूमा सफल प्रदर्शन गरिसकेको ‘रंगी’ सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो, जुन बाबु–छोरीबीचको गहिरो सम्बन्धमा आधारित छ। निर्देशक सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको फिल्ममा सलोन बस्नेतसँगै नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय रहेको छ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, समीक्षा अधिकारी र सुजता केसीको स्वर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहेको छ। ‘रंगी’ नेपालमा एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टमार्फत प्रदर्शनमा आएको थियो।
For More videos Log on to Mazzako TV