फिल्म ‘अभिमन्यु’ को छायांकन सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार जम्मा २५ दिनमा छायांकन सकेर अब फिल्मको पोस्ट-प्रोडक्सनको काम सुरु भइसकेको छ। चैत १९ गते कीर्तिपुरमा पूजा गर्दै शुभमुहूर्त गरिएको ‘अभिमन्यु’ ले छायांकन छिटो सकाउँदै राम्रो लय समातेको छ।

‘अभिमन्यु’ मा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ। सर्वकालीन ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलले निर्माण गरेको यो फिल्म आगामी भदौ २७ गतेदेखि नेपालसहित विश्वभर हिन्दी र नेपाली भाषामा एकसाथ प्रदर्शनमा आउने पक्का भइसकेको छ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यस फिल्मलाई सुशान्त गौतमले निर्देशन गरिरहेका छन्, जुन उनको डेब्यु निर्देशन हो। चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशकको भूमिकामा मदन थापा रहेका छन्, जसले यसअघि ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।

फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्छ। कथावस्तु अनुसार, पैसाको लोभमा जालझेलमा फसेको पात्र र त्यसबाट उम्किनको लागि गर्ने संघर्ष फिल्मको मूल कथा हुनेछ। दर्शकहरूले यसमा रहस्य, द्वन्द्व र जीवनका कठोर यथार्थ देख्ने अपेक्षा गर्न सक्छन्।

सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन्। छायांकन निर्देशक (डिओपी) को जिम्मा शरद महतोले सम्हालेका छन्। निर्माण पक्षका अनुसार, फिल्मको ट्रेलर चाँडै सार्वजनिक गरिनेछ र त्यसपछि प्रचार अभियानलाई अझ तीव्र बनाइनेछ। निर्माण टोलीले दर्शकहरूलाई नयाँ स्वाद र सशक्त कथा दिन सक्ने विश्वास व्यक्त गरेको छ।

For More videos Log on to Mazzako TV