‘जार’ आफ्नो करियरको महत्वपूर्ण उपलब्धि– अनुपविक्रम शाही
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जार’ का मुख्य अभिनेता अनुपविक्रम शाहीले यो फिल्म आफ्नो करियरको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। भारतको दार्जिलिङमा आयोजित प्रचार कार्यक्रममा अनुपविक्रमले इन्द्रबहादुर राईद्वारा लिखित ऐतिहासिक नेपाली कृतिमाथि बनेको फिल्ममा अभिनय गर्न पाउनु गौरवको कुरा भएको बताए।

“यो फिल्म मेरो लागि धेरै विशेष छ,” उनले भने, “म विगतमा गर्दै आएको भूमिकाबाट बाहिर निस्किएर यो पटक बिलकुल फरक पात्रमा प्रस्तुत भएको छु। ‘जार’को हर्षजीत पात्रका लागि मैले अरू फिल्मभन्दा १० गुणा बढी मेहनत गरेको छु।” सिक्किम र दार्जिलिङका दर्शकहरूसँग नजिकबाट भेटघाट गर्न पाउँदा आफू उत्साहित भएको उनले सुनाए। साथै उनले गोर्खाली पुर्खाहरूको वास्तविक इतिहास बुझ्न ‘जार’ उपयुक्त माध्यम भएको उल्लेख गरे।
फिल्मका निर्देशक फुर्वाछिरिङ लामाले ‘जार’ सयौं वर्ष पुरानो गोर्खाली समाजको कथा भएको र नयाँ पुस्तालाई समर्पित रहेको बताए। “हामीले गोर्खालीका लागि यो फिल्म बनाएका हौं र आइबी राईको कथालाई जस्ताको तस्तै पर्दामा उतार्ने प्रयास गरेका छौं,” निर्देशक लामाले बताए।
कार्यकारी निर्माता ज्योति क्षेत्रीले उत्कृष्ट फिल्म बनाउन लगानीमा कुनै सम्झौता नगरिएको स्पष्ट पारिन्। सिक्किम प्रिमियरमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा उत्साहित भएको भन्दै उनले यही मे ९ (वैशाख २६) बाट नेपाल, सिक्किम र दार्जिलिङका दर्शकबाट मायाको अपेक्षा रहेको बताइन्।
फिल्ममा अनुपविक्रमसँगै सौगात मल्ल र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापाको अभिनय रहेको छ। ‘जार’ ले नेपाली सिनेमामा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ र दर्शकहरूलाई ऐतिहासिक कथासँग जोड्ने लक्ष्य राखिएको छ।
For More videos Log on to Mazzako TV