असार २७ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र “यो मन त मेरो नेपाली हो” को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक “खैजडी” गीत “हेर लौ नेपाल आमाको” ले नेपालको गौरवमय इतिहासदेखि वर्तमान अवस्थासम्मको सार प्रस्तुत गरेको छ।

गायक तथा गीतकार अनिश अधिकारीको स्वर, शब्द र भावनाले भरिएको यो गीतमा देशप्रेमको गहिरो अनुभूति समेटिएको छ। गीतमा चलचित्रका प्रमुख कलाकारहरू रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, बिजिता बर्देवा, देवराज राजबंशी र अनिश अधिकारी आफैँ फिचर छन्। प्रमोद भण्डारीको आकर्षक कोरियोग्राफीले गीतलाई थप जीवन्त बनाएको छ।

यसअघि सार्वजनिक गरिएको रोम्यान्टिक गीत “तिम्रो आँखै रसिलो” ले पनि दर्शक तथा स्रोताको मन जितिसकेको छ।ज्ञान बहादुर प्रधान (रोशन) द्वारा निर्मित यो चलचित्र मित्र प्रधान प्रस्तुतकर्ता रहेको ईश्वर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो। अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशनमा बनेको चलचित्रले प्रवासमा रहेका नेपालीहरूको संवेदना, संघर्ष र मौलिकताको सवाल उठाएको छ।

चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन ‘मन्त्री’, सुबास भण्डारी, बिजय सुब्बा, बिजिता बर्देवा, देवराज राजबंशी लगायत कलाकारहरूको अभिनय रहेको छ।शिवम् अधिकारीको लेखनमा आधारित यो चलचित्रले नेपाली भाषा, इतिहास, संस्कृति र पहिचानबारे गहिरो सन्देश दिन खोजेको छ। विदेशमा नेपाली कला, संस्कृति र भाषाप्रतिको चासो कम हुँदै गएको सन्दर्भमा, चलचित्रले त्यसप्रति चेतना जगाउने प्रयास गरेको छ।

फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। *आरआर फिल्मस् प्रा.लि.*ले चलचित्रको वितरण गर्नेछ।

For More videos Log on to Mazzako TV