हेटौंडाका ध्रुव न्यौपानेलाई कहिले र कसरी ‘हिरो बन्ने’ सोच पलायो, उनी आफैंलाई थाहा छैन। बाल्यकालदेखि नै भित्रभित्रै उम्लिरहेको कलाकार बन्ने रहरलाई उनले परिस्थितिसँगै मनको कुनामा थन्क्याएका थिए। पैसाको जोहो गर्न उनले हेटौंडाबाट काठमाडौंसम्मको यात्रा तय गरे।

काठमाडौंको नयाँ बानेश्वरमा रोजमेरी क्याफे सञ्चालन गर्दै गर्दा उनी कलाकार र फिल्मकर्मीहरू नजिकिए। ‘तपाईंजस्तो व्यक्तिले रंगिन दुनियाँमा आउनुपर्छ’ भन्ने उत्साहका शब्दले उनले बाल्यकालको सपनालाई फेरि जिउँदो बनाए। त्यसपछि म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरे। झन्डै ५० वटा भिडियोमा काम गरेपछि उनले नेपाली सिनेमामा प्रवेश गरे। ‘प्लान’, ‘सन्त्रास’, ‘क्राइम’, ‘द क्राइम’, ‘पायल’ जस्ता फिल्ममा उनले अभिनयको स्वाद चाखे।

तर कोभिड महामारीले उनको गति रोकेको थियो। अपेक्षित सफलताको अभावले ध्रुवले कलाकारितालाई होइन, निर्माणलाई नयाँ बाटो बनाए। ‘धुर्वतारा फिल्म्स’ स्थापना गरी उनले ‘हिरो रिटर्न्स’ निर्माण गरे। महामारीको मारले फिल्म नचलेकामा उनी निराश छैनन्। ‘मायावी’ पछि अहिले उनी नयाँ फिल्म ‘नरसिंहा अवतार’ लिएर दर्शकमाझ आउन तयारीमा छन्।

व्यवसायिक पृष्ठभूमि भएका ध्रुव अहिले निर्माणसँगै ‘चेतना कन्स्ट्रक्सन’ र होटल ‘मुनस्टार’ जस्ता क्षेत्रमा पनि सह-लगानीकर्ता छन्। अब उनले प्रत्येक वर्ष एउटा फिल्म निर्माण गर्ने योजना अघि सारेका छन्।

ध्रुव भन्छन्, ‘कोशिश गर्न छोड्दिन। असफलताबाट डराउने होइन, सिकेर अघि बढ्ने हो।’ उनको आत्मविश्वास र निरन्तर प्रयासले अब नेपाली फिल्म उद्योगमा नयाँ उचाइ लिने संकेत देखिएको छ।

For More videos Log on to Mazzako TV