चलचित्र ‘कर्मा’ का कलाकारले यो नेपाली रजतपटमा आइरहेका चलचित्रभन्दा फरक रहेको बताएका छन्। कथा र प्रस्तुतीकरण दुबै हिसाबले ‘कर्मा’ अन्य चलचित्रभन्दा भिन्न रहेको दाबी गरिएको छ। “यो हालका नियमित चलचित्रभन्दा फरक छ,” अभिनेता मुकुन भुसाल भन्छन्, “निर्देशकले कथा फरक शैलीमा प्रस्तुत गर्नुभएको छ।”

प्रत्येक कलाकार तथा निर्देशकले आफ्नो चलचित्रलाई विशेष बताउने गरे तापनि ‘कर्मा’ साँच्चै नै पृथक रहेको उनको भनाइ छ। कथा, निर्माण शैली र प्रस्तुतीकरण नै फरक भएकाले चलचित्र अन्यभन्दा विशेष रहेको उनले उल्लेख गरे। अभिनेता विपिन कार्कीले एक्सन चलचित्रका लागि विशेष तयारी गरेको मुकुनले बताए। “निर्माताले विश्वास गरेर लिनुभएको विपिन कार्कीले पनि मेहनतपूर्वक काम गर्नुभएको छ। त्यसकै कारण टिजरमा उहाँले वाहवाही पाउनुभएको छ,” उनले थपे।

कलाकार दिव्यदेवका अनुसार विपिन कार्कीले प्रत्येक भूमिकामा विशेष मेहनत गर्ने गरेका छन्। “प्रत्येक चलचित्रमा उहाँले विभिन्न भूमिकामा आफूलाई प्रमाणित गर्नुभएको छ। यसमा पनि उहाँको उत्कृष्ट प्रस्तुति छ,” उनले भने।अभिनेत्री सरिता गिरीले निर्देशक सौरभ चौधरीले आफूलाई चलचित्रमा ‘आमा’ नभई विशेष चरित्रको लागि अफर गरेको स्मरण गरिन्। “निर्देशकले जब मलाई क्यारेक्टर चाहिएको भन्नुभयो, त्यही कुराले मलाई छुयो,” उनले भनिन्। उनले चलचित्रमा आफ्नो भूमिका अन्य आमा भूमिकाभन्दा भिन्न रहेको उल्लेख गरिन्। “यस चलचित्रले आमाको परम्परागत छवि तोड्नेछ,” उनले भनिन्।

निर्देशक चौधरीले कुनै पनि गलत कर्मले अन्ततः सजाय पाउने बताए। “यदि कोही गलत कार्य गरेर सफल भएको देखिन्छ भने पनि अन्ततः उसले मूल्य चुकाउनुपर्छ। यही नै कर्मको सिद्धान्त हो। त्यसैले हामीले सधैं असल कार्य गर्नुपर्छ,” उनले भने।

अभिनेत्री उपासना सिंह ठकुरीले चलचित्र ‘कर्मा’ प्रति पूर्ण विश्वास रहेको बताइन्। विपिन कार्कीको एक्सन भूमिकाप्रति समेत आफू आशावादी रहेको उनले उल्लेख गरिन्। “म एक्सन भूमिकामा छैन, तर चलचित्रको निर्माण क्रममा मैले एक्सन सिनेमामा काम गर्ने इच्छा जागेको छ,” उनले भनिन्।

चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय रहेको छ। नयाँ वर्ष २०८२ को अवसर पारेर ‘कर्मा’ आगामी चैत २९ गते नेपाल तथा विदेशमा एकसाथ रिलिज हुँदैछ। ड्रामा, सस्पेन्स र एक्सन विधामा निर्माण भएको यो चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्। अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन रहेको छ। तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको चलचित्रमा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको पाश्र्व संगीत, शाहिल खानको टिजर-ट्रेलर निर्माण, विजय बाश्यालको प्रचार सामग्री डिजाइन तथा राजेन्द्र मोक्तानको रङ संयोजन रहेको छ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यो चलचित्रमा वसन्त लम्सालको लगानी रहेको छ।

निर्देशक चौधरीको अघिल्लो चलचित्र ‘अगस्त्यः च्याप्टर १’ ले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो।

For More videos Log on to Mazzako TV