दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ अन्ततः सेन्सर पास भएको छ। सोमबार सेन्सर बोर्डले केही दृश्य र संवादमा आपत्ति जनाउँदै रोक लगाएपछि बुधबार निर्माताले पुनः सेन्सरका लागि आवेदन दिएका थिए। बोर्डले राखेका सबै सर्तहरू पूरा गरेपछि फिल्मले ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरेको छ, जसले गर्दा सबै उमेर समूहका दर्शकले हेर्न सक्नेछन्।

सेन्सर बोर्डले फिल्ममा समेटिएको २०७२ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘झरेका आँप’ सम्बन्धी भाषणमाथि आपत्ति जनाएको थियो। बोर्डले या त उक्त दृश्य सम्पादन गर्न वा प्रधानमन्त्री कार्यालयबाट आधिकारिक अनुमति लिन निर्देशन दिएको थियो। अन्ततः निर्माताहरूले उक्त दृश्य हटाउने निर्णय गरे। साथै, अन्य केही शब्दहरू म्युट गरिनेछ।

नेपालमा सेन्सर पास नभएसम्म फिल्म प्रदर्शन गर्न नपाइने कानुनी व्यवस्था छ। तर, ‘राजागंज’ले विर्तामोड, इटहरी, चितवन लगायतका सहरहरूमा सेन्सर नहुँदै प्रिमियर गरिसकेको थियो। फिल्मको काठमाडौँ प्रिमियर पनि बुधबार तय गरिएको थियो, जुन सेन्सर रोकिँदा अन्योलमा परेको थियो। अब सेन्सर पास भइसकेपछि प्रदर्शनमा कुनै बाधा नरहेको निर्माण पक्षले जनाएको छ।

फिल्मले अपहरणमा परेका एक जना सभासद् र विद्यालयकी प्रधानध्यापकका छोरालाई मुक्त गराउन गरिएको प्रहरी अपरेसन को कथा भन्छ। यसमा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल, गौमाया गुरुङ, निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ। अब फिल्म चैत १ गतेदेखि नेपालभर प्रदर्शन हुनेछ।

For More videos Log on to Mazzako TV