ब्रिटिस फिल्म ‘कामा’ मा टङ्क धमला
बेलायतमा बसोबास गर्ने अभिनेता टङ्क धमला पछिल्लो समय चर्चामा छन्। उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरूमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ। ब्रिटिस विज्ञापन तथा फिल्म ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसकेका अभिनेता धमालाले यसमा मुख्य भूमिकामा अभिनय गरेका छन्।

विश्वासघात र बदलाका लागि मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने विषयलाई उठान गरिएको फिल्म ‘कामा’ मा उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन्।
उनी फिल्ममा आर्मीको भूमिकामा देखिएका छन्, जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउँछ। त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताएका छन्।
‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रूपमा फिट हुनेदेखि प्राविधिक पक्षमा पनि ध्यान दिएर तयारी गरें। आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्न मैले विशेष प्रशिक्षण लिएँ,’ उनले भने।
उनले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएको बताए। अभिनेता धमालाले बलिउडको ब्लकबस्टर फिल्म ‘एनिमल’ तथा नेपाली फिल्म ‘सरौतो’ मा समेत अभिनय गरिसकेका छन्।
इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ मा प्रदर्शन भएको ‘कामा’ मा टङ्कले सर्वोत्तम अभिनेताको अवार्ड जितेका थिए। सार्वजनिक प्रदर्शन अगाडि आयोजित प्राइभेट स्क्रिनिङमा समीक्षकहरूले उनको भूमिकाको प्रसंसा गरेका थिए। ‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा समेत सर्वोत्तम अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ ले बेलायत र आयरल्याण्डका हलहरूमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
शारीरिक बनोट र व्यक्तित्वका कारण उनी दर्शकमाझ चर्चित भइरहेका छन्। पेसाले चार्टर्ड एकाउन्टेन्ट भए तापनि उनले फिल्म सम्बन्धी अध्ययन गरेर मोडलिङ सुरु गरेका थिए। सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोलालगायतका विज्ञापनहरूमा काम गरिसकेका छन्।
‘फिल्म सम्बन्धी अध्ययन गरेको कारण पनि कलाकारितालाई म निरन्तरता दिइरहेको छु। नेपाली फिल्मसँगै भारतीय र ब्रिटिस फिल्ममा काम गर्ने क्रममा मैले उनीहरूको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ। यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ,’ उनले भने।
‘सरौतो’ पछि उनलाई केही नेपाली फिल्ममा समेत अभिनय गर्न प्रस्ताव आएको थियो। तर, ‘कामा’ को तयारी र आफ्नै व्यस्त दैनिकीका कारण उनले समय दिन सकेनन्। यद्यपि अब उनी नेपाली फिल्मका लागि पनि तयार भएको बताउँछन्।
‘ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण मैले केही राम्रा अफर स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाधिएको थिएँ। तर, अब नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार छु। सङ्ख्यात्मकभन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ,’ उनले भने।
ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियट्ससँग आबद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन्।
For More videos Log on to Mazzako TV