अडिसनमार्फत छनोट हुँदै नेपाली फिल्म उद्योगमा डेब्यू गरेकी सुपुष्पा भट्ट, जो ‘रणवीर’ फिल्मबाट पहिलो पटक दर्शकमाझ आएकी थिइन्, अब लामो समयपछि ‘फेरि रेशम फिलिली’ मार्फत पुनः सिल्भर स्क्रिनमा देखिन लागेकी छिन्। यो फिल्म सिनेमा आर्ट्सको ब्यानर अन्तर्गत निर्माण गरिएको हो, जुन सुपुष्पाको आफ्नै होम प्रोडक्सन हो। उनका पति रौनक विक्रम कँडेल यस फिल्मका निर्माता हुन्। रिलिज मिति निकै नजिक आइसकेको छ, जसले गर्दा सुपुष्पा उत्साहित र केही हदसम्म नर्भस पनि देखिन्छिन्। उनले आफ्नो भूमिकालाई लिएर उच्च आशा व्यक्त गरेकी छिन्।

सुपुष्पाका अनुसार, जब उनलाई ‘फिलिली गर्ल’ बन्ने अवसर मिलेको थाहा भयो, त्यो क्षण निकै रोमाञ्चक थियो। ‘माथि नै पुगेजस्तो महसुस भयो,’ उनले खुलासा गरिन्। राम्रो प्रोडक्सन, मेहनती निर्देशक, बलियो स्क्रिप्ट—यी सबै कारणले गर्दा फिल्मको हिस्सा बन्न पाउनु गर्वको विषय भएको उनको भनाइ छ।निर्देशक निरोज महर्जनले सुपुष्पाको चरित्रलाई ध्यानमा राखेर नै कथा लेखेका थिए। त्यसैले अन्य अभिनेत्रीसँग तुलना गर्न आवश्यक नै परेन। ‘फेरि रेशम फिलिली’ मा अधिकांश पहिलाको श्रृंखलाका कलाकार पुनः देखिन लागेका छन्, तर यस पटक मुख्य महिला पात्रको रूपमा सुपुष्पा भट्ट नयाँ अनुहार बनेर आएकी छिन्।

सुपुष्पाले निभाएको भूमिका बोल्ड छ। ‘मै हूँ’ भन्ने स्वभावकी पात्रले आफ्नो चाहना मात्र सोच्ने स्वाभाविक विशेषता बोकेको छ। उनले आफ्नो भूमिकामा शतप्रतिशत मेहनत दिएको बताउँछिन्, तर के त्यो पर्याप्त रह्यो भन्ने प्रश्न भने अझै बाँकी रहेको उनको अनुभव छ।‘अझ कडा मेहनत गर्न सक्थे जस्तो लाग्छ,’ उनले स्पष्ट पारिन्। फिल्मको स्क्रिप्ट र दृश्यहरू बलियो हुनु नै आफ्नो लागि मुख्य प्राथमिकता रहेको र ‘फेरि रेशम फिलिली’ त्यस्तै फिल्म भएकोले आफू निकै खुशी भएको उनले बताइन्।

उनले निभाएको चरित्र चुनौतीपूर्ण छ। त्यसैले दर्शकले यसलाई कसरी लिन्छन् भन्ने जिज्ञासा र तनाव दुवै रहेको उनले खुलाइन्। ‘राम्रो हुने आशा छ, तर अलिकति नर्भसनेस पनि छ,’ उनले भनिन्।फिल्मको रेटिङ दिन उनी इच्छुक थिइनन्, तर अन्त्यमा भने फिल्मप्रति आत्मविश्वास व्यक्त गर्दै भनिन्, ‘जस्तो गरी लेखिएको थियो, ठीक त्यस्तै पर्दामा उतारिएको छ।’

‘फेरि रेशम फिलिली’ फागुन १४ गते, शिवरात्रिको अवसर पारेर प्रदर्शनमा आउँदैछ। यस फिल्ममा सुपुष्पासँगै विनय श्रेष्ठ, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन, तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत समावेश छ।

वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको यस फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्माता एनि थापा हुन्। ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले पोस्टर डिजाइन गरेका छन्। यस फिल्मलाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन्।

For More videos Log on to Mazzako TV