‘ताण्डवम्’ सुटिङकै बेला आमा गुमाएका अंकित: भूमिका निभाउँदा चुनौतीपूर्ण अनुभव
आगामी शुक्रबार, फागुन ९ गते महाशिवरात्रीको अवसरमा निर्देशक जुनिम गहतराजद्वारा निर्देशित सिनेमा ‘ताण्डवम्’ प्रदर्शनमा आउँदैछ । यो सिनेमा डार्क थिममा आधारित छ र एक नवविवाहित जोडीको कथा लिएर आएको छ । यस सिनेमामा उक्त जोडीले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा घट्ने अकल्पनीय घटनाको चित्रण गरिएको छ । यो सिनेमालाई पारिवारिक एक्सन थ्रीलर फिल्मको रूपमा परिभाषित गरिएको छ ।

सिनेमाका मुख्य कलाकार मध्ये एक अंकित खड्काले ‘ताण्डवम्’ सिनेमाको कथावस्तु र क्यारेक्टर प्रति आफूलाई आकर्षित गरेको बताएका छन् । उनले यस सिनेमामा आफ्नो क्यारेक्टर ‘घैटे’को भूमिका निभाउँदा गाह्रो अनुभव भएको पनि सुनाएका छन् । उनको क्यारेक्टरले आमाको माया नपाएको व्यक्तिको मनोविज्ञानलाई उजागर गर्दछ, जसले आमाप्रति फरक सोच राख्छ र आमाजस्तो देखिने व्यक्तिहरुप्रति समस्याग्रस्त हुन्छ । अंकितले यो भूमिका निभाउँदा आफ्नो वास्तविक जीवनमा आमाको निधन भएकोले यो भूमिका निभाउन निकै चुनौतीपूर्ण रहेको बताए ।

उनले भने, “मलाई धेरै गाह्रो भयो । फिल्म सुटिङकै बेला मेरो आमा पनि बित्नु भएको थियो । आमालाई गाली गर्नुपर्ने छ, आमा शब्दलाई निकालेर कसरी गाली गर्ने ? आमा शब्दलाई गाली गर्नै मन थिएन । आमा भन्ने शब्द एउटा पृथ्वी हो, पृथ्वीलाई कसरी गाली गर्ने? तर मेरो क्यारेक्टर नै आमालाई गाली गर्ने थियो, यसमा अलि मलाई असहज त लागेको थियो ।”

अंकितले कलाकारको धर्म नै विभिन्न क्यारेक्टरहरुमा काम गर्नु हो भन्ने बुझाई राखेका छन् । उनले यस सिनेमामा नयाँ टिमसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् । नयाँ टिमसँग काम गर्दा नयाँ जोश र अनुभव प्राप्त गर्न पाइएको उनले बताए । यस सिनेमामा लभस्टोरी, एक्सन थ्रीलर, साथीको कथा, मायाप्रेम, लोकल ठाउँको लोकल र मध्यम वर्गिय परिवारको कथाको मिश्रण छ ।
‘ताण्डवम्’ सिनेमाले दर्शकहरुलाई नयाँ अनुभव दिने र स्मरणीय पलहरु प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले नेपाली सिनेमा जगतमा नयाँ मानक स्थापित गर्न सक्ने सम्भावना राख्छ ।
For More videos Log on to Mazzako TV