फिल्म ‘दुःखी आत्मा’को ट्रेलर सार्वजनिक
फिल्म ‘दुःखी आत्मा’ले टिजर, गीतसंगीत र ब्रेकअप कविताका संयोजनबाट दर्शकको ध्यान तान्न सफल भएको छ। निर्माणपक्षले फिल्म रिलिजको १० दिन अगाडि मात्र ट्रेलर सार्वजनिक गरेको भए तापनि, यसको प्रभाव अत्यन्तै मनमोहक भएको छ।

ट्रेलरमा समावेश गरिएको कविताले फिल्मको भावनात्मक पक्षलाई प्रस्ट पार्दछ। एक कवितामा भनिएको छ –
“नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन ।
बगरले नदिलाई जवाफ दिइन् – ‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’”
यस कविताबाट, फिल्मले प्रेम र बिछोडका बीचको मनोवैज्ञानिक संघर्ष र संवेदनशील भावनालाई उजागर गर्ने संकेत मिल्दछ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुःखी आत्मा’मा हिमाल कडरियाको लगानी रहेको छ। सुदिप ढकाल कार्यकारी निर्माता रहँदा, आलोक शुक्लाको छायांकन र निमेष श्रेष्ठको सम्पादनले फिल्मलाई प्राविधिक दृष्टिले उत्कृष्ट बनाउन सहयोग पुर्याएको छ।
रामजी लामिछानेको कोरियोग्राफी र श्रवण मुकारुङका १० कविता समावेश गरिएको यस चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, आरती आचार्य, लोकेन्द्र लेखक, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर लगायतका कलाकारहरुको अभिनय समावेश गरिएको छ।
क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण हुँदै आएको ‘दुःखी आत्मा’ फागुनको २ गते प्रेम दिवसको अवसरमा रिलिज हुने तयारीमा छ। सार्वजनिक ट्रेलरमा दया र आँचलको प्रेम, नोकझोक र संवेदनशील प्रेमभाव समेटिएको देखिएको छ। साथै, ट्रेलरमा समावेश थुप्रै संवादले दर्शकको उत्सुकता र संवेदनालाई उजागर गरेको छ।