‘बलिदान’ को लागि कालीमाताको ४२ फिट अग्लो विशाल मूर्ति निर्माण
प्रतीक्षित फिल्म ‘बलिदान’को कथा अनुरूप, दानवी प्रवृत्तिको अन्त्य गर्ने देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको छ । फिल्मका निर्देशक सन्तोष सेनले नेपालभर खोजी गर्दा पनि उपयुक्त मूर्ति नभेटेपछि, निर्माण टोली भारतको कलकत्तामा गएर त्यहाँका कुशल कालिगडहरूसँग मिलेर यो मूर्ति तयार गरिएको बताए । “फिल्मका लागि हामीलाई एउटा विशाल कालीमाताको मूर्ति चाहिएको थियो । देशभर खोजी गर्दा पनि हामीले आफ्नो चाहनाअनुसारको मूर्ति पाएनौँ । अन्ततः, हामी भारतको कलकत्ता पुग्यौँ । त्यहाँका कुशल कालिगडहरूसँग मिलेर ४२ फिट अग्लो काली माताको मूर्ति निर्माण गर्यौँ,” सेनले बताए ।
मूर्ति निर्माणको यो यात्रा चुनौतीपूर्ण रहेता पनि मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानलाई भने यसले नयाँ पहिचान दिएको छ । फिल्मको छायाङ्कन नसकिँदै ‘काली चौर’का रूपमा परिचित यो स्थान चर्चित स्थल बनेको छ । यस क्षेत्रमा निर्माण गरिएको मञ्च र २०० भन्दा बढी स्टलहरूले स्थानीयलाई रोजगारीका अवसर प्रदान गर्नुका साथै एउटा मिनी बजार सञ्चालनमा ल्याएको निर्देशकले जनाए ।
फिल्मका निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’को छायाङ्कन लगभग पूरा भइसकेको छ । छायाङ्कन सकिएपछि टिजरसहित फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनले बताए । फिल्मको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय चर्चित एक्सन निर्देशक स्टन्डर साम को नेतृत्वमा ३० जनाको टोलीले अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ ।
‘बलिदान’ को कथा अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको सङ्घर्षमा आधारित छ । ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको यस चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको भूमिकामा छन् ।नेपाली समाजको यथार्थ चित्रण, भव्य दृश्य, र प्रविधिको उच्च प्रयोगले ‘बलिदान’लाई सिनेप्रेमीहरूबीच लोकप्रिय बनाउने अपेक्षा गरिएको छ ।
For More videos Log on to Mazzako TV