थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि ‘हरि हजुरबा’ नामक नाटक मञ्चन हुँदैछ। यो नाटकले दर्शकलाई द्वन्द्वका कारण भोगिएका पीडादायक क्षणहरू र सम्बन्धका गहिराइहरूमा डुबाउने उद्देश्य लिएको छ।पुस २८ गतेसम्म प्रदर्शन हुने यो नाटक सोमबार बाहेक प्रत्येक दिन मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५:१५ बजे दुई शोहरू हुनेछन्।

नाटक अभिनेता नाजिर हुसेनको निर्देशन, लेखन र परिकल्पनामा तयार भएको हो। करिब १० वर्षपछि उनी नाटकको संसारमा फर्किएका छन्। उनले यस नाटकमा द्वन्द्वको प्रभाव र मानवीय सम्बन्धको पेचिलो पाटोलाई समेटेका छन्।प्रमुख पात्रहरूमा नाजिर स्वयं, विजय बराल, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहेको छ। विजय बरालको मञ्चमा यो नाटक ‘मितज्यू’ पछि पुनरागमन हो।

‘हरि हजुरबा’को कथा द्वन्द्वकालमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबा र चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरिको मार्मिक जीवनकथामा आधारित छ। कविताबाट प्रेरित भएर कथा निर्माण गरिएको यस नाटकले द्वन्द्वले पारेको घाउमा मलम लगाउने प्रयास गर्दछ।नाटकको निर्माणमा दयाहाङ राई र बुद्धि तामाङले सहयोग गरेका छन्। ‘हरि हजुरबा’ टिमले यो नाटक दर्शकलाई गहिरो भावनात्मक यात्रा गराउने र समाजमा सकारात्मक सन्देश पुर्याउने विश्वास लिएको छ।

For More videos Log on to Mazzako TV