‘बेहुली फ्रम मेघौली’ को एडभान्स बुकिङ खुल्ला
बिहीबार घटस्थापनामा रिलिज हुन लागेको ‘बेहुली फ्रम मेघौली’का लागि सोमबार नेपाली सिनेमाघरहरुले एडभान्स बुकिङ खुल्ला गरेका छन् । बुकिङले अभिनेत्री स्वस्तिमा खड्काको निर्माण डेब्यू सिनेमालाई बम्बर ओपनिङ दिलाउने आधार तयार पारेको छ।
देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले देशभर ‘बेहुली फ्रम मेघौली’लाई कूल ७३ शो उपलब्ध गराएको छ जसमा काठमाडौं उपत्यकामा ३२ र मोफसलमा ४१ शो बुकिङ खोलेको छ। यस्तै, आइएनआई सिनेमाजले आफ्नो चेनमा रहेका काठमाडौंका दुई हल र बुटवलमा गरि १४ शो दिएको छ भने वान सिनेमाजले नयाँ बानेश्वर र कालीमाटीमा गरी ९ शो दिएको छ । यसैगरी बिग मुभिजले ६ शो र एफक्युबले ७ शो दिएका छन् ।
केही हलहरुमा एड्भान्स बुकिङ खुल्ला हुन बाँकी नै छ । सम्भवतः पहिलो दिनका लागि सिनेमाले दुई सय बढि सो पाउनेछ। सिनेमालाई साजन काफ्ले र आकाश बरालको संयुक्तरुपमा निर्देशन गरेका हुन्।
सिनेमामा स्वस्तिमा खड्का र निश्चल बस्नेतको साथमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी लगायतको अभिनय रहेको छ । सिनेमाले उमेर पुगेकी युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाब र सोका कारण उत्पन्न परिस्थितिको कथा पेस गर्नेछ ।
कमेडीप्रधान ट्रेलरबाट दर्शकहरुलाई आकर्षित गरेको यो सिनेमाले पारिवारिक दर्शकलाई पूर्ण मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ । यो उनीहरुको डेव्यु निर्देशकिय सिनेमा हो । अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान निश्चल बस्नेतले सघाएका छन् । सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइन र केशव पाण्डे र लक्ष्मण पाण्डेको स्टील फोटोग्राफी छ । सिनेमालाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन् ।
सिनेमा ‘बेहुली फ्रम मेघौली’ असोज १७ गते रिलिज हुनेछ । दसैँको अवसर पारेर सिनेमा घटस्थापनाका दिन रिलिज हुन लागेको हो ।
For More videos Log on to Mazzako TV