सुरविनाको ‘मीराः स्याडो अफ अ रेन्बो’
फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को सोमबार काठमाडौँको मैतिदेवि मन्दिरमा शुभमुहुर्त गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बन्न लागेको यो फिल्मलाई अनिता पण्डितले लेखन तथा निर्देशन गर्न लागेकी हुन् ।
फिल्ममा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको प्रमूख अभिनय रहनेछ । आश्वि फिल्मसले निर्माण गरेको यस फिल्मका लाइन प्रोड्युसर शंकर कार्की हुन् ।
मुहुर्त पछि निर्देशक पण्डितले यसको प्रमूख कथा बच्चाको अटिजम समस्या र रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष रहेको बताईन् । उनले भनिन्, “प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस फिल्ममा रहेको छ । बच्चाको अटिजम समस्या र रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो ।” पेशाले आईटि इन्जिनियर रहेकी उनले आफ्नो फिल्मप्रतिको प्रबल इच्छालाई मुर्तरुप दिने क्रममा यो फिल्म निर्देशन गर्न लागेको बताईन् ।
‘मीराः स्याडो अफ अ रेन्बो’की अभिनेत्री सुरविना कार्कीले आफुलाई प्रस्ताव गरिएको भूमिका भिन्न पाएकोले यसमा अभिनय गर्न लागेको बताईन् । उनले भनिन्, “यसमा आफ्नो ‘सेक्सुवालिटि’लाई ‘एक्सप्लोर’ गर्न चाहने महिलाको कथा रहेको छ । वर्तमानमा यो कुरा एकदम सामान्य हो तर विभिन्न कारणले एक महिलाले त्यसलाई बाहिर ल्याउन सकिरहेको हुँदैन । कथा त्यसमै आधारित छ ।”
अभिनेता निशान चौहानले यसको कथाले समाजमा नयाँ सन्देश दिने बताए । उनले थपे, “फिल्मको कथाले मेरो मन छोयो । मलाई आफुभन्दा निकै फरक पात्रको रुपमा मैले यसमा पाएको छु । समाजमा बाहिर आउनैपर्ने यथार्थ यो फिल्मबाट आउनेछ ।” अर्का अभिनेता कैलाश रावलले एक महिलाले आफ्नो जीवनकालमा भोग्नुपर्ने हरेक किसिमका उतार चढावका कथाहरु मर्मस्पर्श रहेको र त्यसमै आधारित यो फिल्म आफ्नो लागि चुनौति र अवसर दुवै रहेको बताए ।
यो फिल्मको छायांकन यसैसाता शुरु हुनेछ । शिवपुरी, पाटन, रानीबन लगायतका स्थानहरुमा यसको छायांकन हुनेछ । फिल्ममा एलिश कार्कीको संगीत रहनेछ । डिओपी अनिल कटुवाल हुन् भने प्रकाश महरा टेक्निकल हेड हुन् । प्रकाश हमालले प्रोडक्शन डिजाईन गरेका छन् ।
For More videos Log on to Mazzako TV