दयाहाङ र मिरुनाको ‘जारी’ को ट्रेलर सार्वजनिक
उपेन्द्र सुब्बा लेखन र निर्देशनमा निर्माण भएको फिल्म ‘जारी’ को ट्रेलर सार्वजनिक भएको छ । आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा हुने फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो ।

फिल्ममा दयाहाङ राई र मिरुना मगर बीचको सम्बन्धमा आएको उतारचढावको कथा समेटिएको छ । लिम्बु समुदायमा प्रचलित जारी प्रथामाथि आधारित रहेको फिल्ममा दयाहाङ र मिरुनासंगै प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ । फिल्मका निर्माता रामबाबु गुरुङ हुन्। यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी– ४’मा मुख्य भूमिकामा देखिएका थिए।