‘पशुपति प्रसाद २ : भष्मे डन’ को शुभमुहूर्त
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । फिल्मको शुभमुहूर्त समारोहमा फिल्मका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो ।
फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब फिल्ममा ‘पशुपति प्रसाद’ मा अभिनेत्री वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ । तर, निर्देशक दीपेन्द्र के खनालले फिल्ममा वर्षा ‘सरप्राइज’ रहेको बताए । शुभमुहूर्त समारोहमा अभिनेत्री वर्षा सिवाकोटी पनि उपस्थित भएकी थिइन् ।
आगामी चैत १० गतेबाट छायांकन सुरु हुन लागेको फिल्म खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने फिल्म टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ । आगामी बडा दशैंको फूलपातीबाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’ को चरित्र केन्द्रित सिक्वेलको रुपमा विपिन कार्कीले निर्वाह गरेको भष्मे डन मा केन्द्रित रहेर सिनेमा बन्नेछ । लेखक लामिछानेले नाम मात्रको सिक्वेल मात्र नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बन्ने बताउँछन् । ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतारचढावलाई फिल्ममा प्रस्तुत गरिने बताइएको छ । फिल्मको छायांकन सेड्युल ३० दिनको राखिएको छ ।
For More videos Log on to Mazzako TV