दयाहाङ र सौगातको ‘दुई नम्बरी’ को ट्रेलर सार्वजनिक
अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘दुई नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका टिम संगै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।
दुई साथीको मित्रताको कथामा कमेडी जनरामा यो फिल्म निर्माण भएको हो । सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मित्रतालाई देखाइएको छ । चलचित्रमा सौगातको जोडी उपासनासँग बाँधिएको छ भने दयाहाङको जोडीका रूपमा उगेन छिन् । उनीहरूबीचको प्रेमलाई समेत ट्रेलरमा चित्रण गरिएको छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको फिल्मको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आउने फिल्मलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ।








