पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ प्रदान
अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ ।
उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल तथा अभिनेत्री निशा घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरेको हो ।

घिमिरेको उपचारमा ५० लाख रुपैयाँ बढी खर्च गरेको नर्भिक इन्टरनेशन अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगको लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्धारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान प्रदान गरिएको छ ।

‘निशा घिमिरे स्मृति कोष’ का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरा लगायतको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
कोषका सदस्य सचिव मोहन निरौलाले मोडलिङमा संघर्ष गर्दा गर्दै दुर्घटनामा पनि गम्भिर घाईते भई उपचारको क्रममा निधन भएकी घिमिरेको स्मृतिमा स्थापित कोषले हरेक वर्ष पुरस्कार तथा सम्मान प्रदान गर्ने बताए । मोडलिङको क्षेत्रमा स्थापित हुन खोजिरहेका र सम्भावना बोकेका महिला कलाकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कार दिईएको उनले बताए । पुरस्कारको राशि जनही पच्चीस हजार रुपैयाँ रहेको छ ।
कोषका संयोजक दुर्गानाथ दाहालले उपचारकै क्रममा निशाको निधन भएपछि उनको उपचारकै लागि भनेर उठेको रकमलाई नै स्मृति कोषमा जम्मा गरि त्यसबाट प्राप्त हुने ब्याजबाट पुरस्कार तथा सम्मान प्रदान गरेको बताए । उनले आफ्नो नेतृत्वमा रहेको नवजीवन परोपकार समाजले निशाजस्तै धेरैको उद्दार, उपचार तथा व्यबस्थापन गर्दै आएको बताए । मानिस मात्र नभएर समाजले दुस्खमा परेका हरेक प्राणीको हेरचाह गर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र अभिनेत्री मिथिला शर्माले यस प्रकारका पुरस्कार तथा सम्मानहरुले कलाकारहरु प्रोत्साहित हुने भन्दै कार्यक्रमको प्रशंसा गरे।
For More videos Log on to Mazzako TV