प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को जुम्लामा प्रिमियर गरिएको छ । आइतबार जुम्लाको दुर्गम गाउँ तिर्खुको ऋणमोक्ष माध्यमिक बिद्यालयको परिसरमा फिल्मको प्रिमियर गरिएको हो ।

भदौको १० गतेबाट रिलिज हुन लागेको यो फिल्मको उक्त गाउँमा प्रोजेक्टरको माध्यमबाट फिल्म देखाइएको हो । बिजुली पनि नभएका कारण फिल्मको टिमले जेनेरेटर पनि आफै लगेको थियो । प्रिमियरमा नायक प्रदीप खड्का र लेखक विकास सुवेदी उपस्थित थिए । यी दुबैलाई स्थानीयबासीले झाँकी र स्थानीय सँस्कार अनुसार फुलमाला र फेदा लगाइदिएर स्वागत गरेका थिए ।

यो फिल्मको छायांकन ४५ दिनसम्म तिर्खु गाँउमा नै गरिएको हो । निर्देशक दिनेश राउतले जुम्लाको भाषा, संस्कृति, रहनसहन, रितिरिवाजका माध्यमबाट कथा भनिएका कारण पहिलो दर्शकका रुपमा त्यहीका स्थानिय जनता माझ फिल्मको प्रिमियर गरिएको बताए । प्रिमियरमा उपस्थित स्थानीय जनताहरुले आफ्नो भोगाई फिल्ममा हेर्न पाएको भन्दै प्रशंसा गरेका थिए ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो फिल्ममा शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ ।

बिकास सुबेदीको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।

For More videos Log on to Mazzako TV