अनमोल केसीको ’छड्के २’ को चितवनबाट छायांकन सुरु
अभिनेता अनमोल केसीको मुख्य भुमिका रहने फिल्म ’छड्के २’ को शुक्रबार चितवनमा शुभमुहुर्त गरिएको छ । मुहुर्तसंगै फिल्मको चितवनबाट छायांकन पनि सुरु गरिएको छ ।
कृष्ण जन्माष्टमीको अवसर पारेर फिल्मको छायांकन सुरु गरिएको हो । अनमोलसहितको निर्माण पक्ष केहि दिनअघिदेखि चितवनमै वर्कसप गरिरहेको थियो ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपालको मुख्य भूमिकामा छन् । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
छायांकन सेटबाट बाहिरिएको तस्विरमा अनमोल जाडोको लुगामा देखिएका छन् । जबकी चितवनमा अहिले प्रचण्ड गर्मि छ । हरियो ज्याकेटमा अनमोलले कालो गलबन्दी बाँधेका छन् । अर्का कलाकार कमलमणिलाई सेतो पहिरणमा देख्न सकिन्छ ।
काभ्रे फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मसंग मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले रहेका छन् ।
६० दिनको छायांकन सेड्युल निकालिएको चलचित्र चितवन र मुस्ताङमा खिचिनेछ । छायांकनको क्रममा बिस्तारै सिनेमा सम्बन्धि जानकारी सार्वजनिक गरिरहने निर्देशक श्रेष्ठले बताए।
For More videos Log on to Mazzako TV