हिमाली स्वादको प्रेमकथा ‘मन्त्र’ – सौगात मल्ल
सौगात मल्ल, आफ्नो चरित्रलाई जसरी हुन्छ न्याय दिन हदै सम्मको मिहिनेत गर्छन् ।उनी अभिनयका माध्यमबाट फरक फरक भुमिकामा न्याय दिदै आएका छन् । सौगात अभिनित फिल्म कति सफल छन् त कति असफल पनि । उनै सौगात मल्लको अभिनय रहेको फिल्म ‘मन्त्र’ यही बैशाख १६ गतेबाट अननेपाल सार्वजनिक प्रदर्शन हुदैछ ।
‘मन्त्र’ एउटा अर्गानिक चलचित्र बनेको कुरामा सौगात ढुक्क छन् । सौगातले २ पटक फिल्म हेरिसकेकाले पनि उनि ढुक्क देखिएका हुन् । उनी फिल्म उत्कृष्ट बनेको भन्दै दर्शकलाई साथ दिन आग्रह गर्छन् ।

हिमाली भेगको कथा फिल्मले बोलेको छ । फिल्मलाई हिमाली प्रेमकथा पनि भनिएको छ । सौगात गोठालोको भूमिकामा छन् । यसअर्थ मनास्लु हिमाल आसपास छायाँकन गर्दा उनलाई मौसमका कारण खासै कठिनाई भएन । यसअघि सौगातले चलचित्र कागबेनीमा पनि हिमाली भेगमै छायाँकन सकाएका थिए । उनी सोही अनुरुपको पात्रमा देखिएका छन् । यसअर्थ ‘मन्त्र’ का लागि आफ्नो भूमिका विकसित गर्न उनलाई थप सहयोग भयो ।

‘मन्त्र’लाई आफुले अहिले गरिरहेका भन्दा भिन्न कथाको चलचित्र भनेका छन् सौगातले । यसमा हिमाली स्वाद पनि पाइने उनको जिकिर छ । उनी चलचित्रले कसैलाई पनि निराश नबनाउने बताउँछन् । सौगातले छायाँकनको केही दिन अघि नै मनास्लु आसपास पुगेर त्यहाँको रहनसहन पनि अब्जर्व गरेका थिए । स्थानियहरुसँग् संगत गरेर सिकेका कुराले आफुलाई सोही अनुरुप प्रस्तुत गर्न सहज भएको उनको बुझाई छ ।
आफुले गरेको पछिल्लो समयका सबै चलचित्र भन्दा ’मन्त्र’ ले आफ्नो मन छोएको उनले बताए। नेपालमा कोरोना भाइरसको प्रभाव सुरु हुनु अगावै निर्माण गरिएको चलचित्र हो ‘मन्त्र’ । वातावरणीय हिसाबमा निकै चिसो स्थानमा खिचिएको चलचित्रमा अभिनय गर्न निकै कठिन भएको मल्ल बताउछन्। अझ सामा गाउँको रहनसहन, लवज र संस्कारसहितको कथामाथि काम गर्न झनै कठिन भएको उनको अनुभव छ। विशेष गरेर प्रेम प्रसङ्गमा छोपेर बिहे गर्ने परम्परागत विषयलाई पनि चलचित्र प्राथमिकताका साथ प्रस्तुत गरेको छ । जुन विषय आम नेपाली दर्शकका लागि निकै रोचक हुने र नेपाली संस्कृति र परम्परासँग पनि जोडिने उनको दाबी छ ।
खिलबहादुर गुरुङ निर्देशित चलचित्रमा सौगातका अलवा दिया पुन, बुद्धि तामाङलगायतका कलाकारको अभिनय रहेको छ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् । मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायाँकन गरिएको चलचित्रमा परिक्षेद सेनको कथा, साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन र मित्र डि.गुरुङको सम्पादन छ ।








