अभिनेत्री नम्रता श्रेष्ठ समय लगाएर चलचित्र गर्छिन तर राम्रो चलचित्र मात्रै गर्छिन् । हातमा आएजति सबै सिनेमा गर्ने उनको बानी छैन । सिनेमाको स्क्रिप्ट चित्त बुझेपछि मात्रै उनले काम गर्ने गरेकी छिन् । पछिल्लो समयका उनका केही चलचित्रहरुले सोचे अनुरुपको ब्यबसायिक सफलता प्राप्त नगरेपछि उनको कामको भने प्रशंसा नै हुने गरेको छ ।

सानो संसार, मेरो एउटा साथी छ, छड्के, नोभेम्बर रेन, क्लासिक, तान्डब, सम्बोधन, प्रसाद हुदै जाइरासम्म आईपुग्दा उनले आफ्नो अभिनयमा भर्सटाईलिटी समेत देखाईसकेकी छिन् । केही सफल, केही असफल चलचित्र हुदै यतिबेला भने निकै समयको ग्यापपछि नम्रताले नयाँ फिल्म साईन गरेकी छिन् । सिनेमाको नाम राखिएको छ ‘ग्रहण’ ।

यो सिनेमामा नम्रतासँग १४ बर्ष पहिले सँगै काम गरेका बिनय पनि देखिदैछन् । बिनय र नम्रताको जोडी सिनेमामा कस्तो देखिएला ? त्यो हेर्न बाँकी छ । साथमा छन् सारुक पनि । अब सारुक त साथमा हुने नै भए । पछिल्लो समय नम्रतासँगको प्रेममा रमाईरहेका सारुक यो सिनेमामा भने भिलेनको रुपमा देखा पर्नेछन् ।

पछिल्लो समय सिक्किम सरकारले त्यहाँ ७५ प्रतिशत भन्दा बढी सुटिङ्ग गर्ने सिनेमालाई भारु १ करोड अनुदान दिने घोषणा गरेसँग नेपाली चलचित्रहरुको आर्कषण पनि सिक्किममा बढेको छ । धेरै नेपाली सिनेमाहरु सिक्किममा सुटिङ्ग गर्ने लाईन्डअपमा छन् । यसैबीच यो सिनेमा ग्रहणपनि सिक्किममा नै छायांकन हुन लागेको हो । सिनेमाको औपचारिक घोषणाको कार्यक्रम पनि युनिटले सिक्किममा नै गरेको छ । आईतबार सिक्किमको राजधानी गान्तोकमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको बारेमा जानकारी गराईएको हो ।

सिक्किमका सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख आतिथ्यतामा फिल्मको निर्माण घोषणा गरिएको हो । ग्रहण चलचित्रलाई राजीव गुरुङ्गले निर्देशन गर्न लागेका हुन्, सिनेमामा लगानी पनि उनको आफ्नै छ । कार्यकारी निर्मातामा सिनेमाका नायक बिनय श्रेष्ठ पनि रहेका छन् । सिनेमाको स्टोरी भने निर्देशक स्वयंले तयार पारेका हुन् ।

सानो संसार रिलिज भएको १४ बर्षपछि नम्रता श्रेष्ठसँग स्क्रिन सेयर गर्न लागेका बिनय श्रेष्ठ सिनेमालाई लिएर निकै नै एक्साईटेड देखिएका छन् । अझ सिनेमा सिक्किमको मनोरम दृश्यहरुबीच छायांकन हुन लागेको कुराले उनलाई थप उत्साहित बनाएको छ । सिनेमामा बिनय बिबेक नामको पात्रको रुपमा प्रस्तुत हुदैछन् । फिल्मको घोषणा सभामा अभिनेता विनय श्रेष्ठले सिक्किम आफूलाई दोस्रो घर जस्तो लाग्ने गरेको भनेर बताएका छन् । यो सिनेमामा सिक्किमका कलाकार र प्राविधिकहरुले समेत काम गर्ने बताईएको छ ।

थ्रिलर जनरामा बन्न लागेको यो सिनेमामा नम्रता श्रेष्ठ भने योगा प्रशिक्षकको भुमिकामा देखा पर्नेछिन् । सारुक त भिलेन भई नै हाले । नम्रता, बिनय र सारुकको कम्बो कस्तो होला, त्यो भने सिनेमा बनेर आएपछि नै थाहा हुनेछ ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने यो फिल्म सिक्किममा र नेपालमा खिचिनेछ । हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने फिल्मको स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाले तयार पारेका हुन् । फिल्मको कथा निर्देशक गुरुङको हो । फिल्मका लागि अन्य कलाकारहरुको केही दिनमा टुंगो लाग्ने बताइएको छ ।

ग्रहण चलचित्रको घोषणा कार्यक्रममा सिक्किम फिल्म प्रोमोसन बोर्डकी अध्यक्ष पूजा शर्मा, सिक्किम मुख्यमन्त्री प्रेम सिंह तामाङका सञ्चार सचिव विकास बस्नेतसँगै निर्माता निर्मला गुरुङ, प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके लगायतको उपस्थिति रहेको थियो । सिक्किमको गान्तोकमा रहेका ‘त्यान्द्रो’ निर्देशक साम्तेन भुटिया पनि कार्यक्रममा उपस्थित भएका थिए ।

For More videos Log on to Mazzako TV