अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा स्टारर फिल्म ‘सम्झना बिर्सना’ आउँदो जेठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रवार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । पोस्टरमा आकाश र पूजा रोमान्टिक देखिएका छन् । ‘सम्झना बिर्सना’ कोरोनाका कारण रिलिज पछि सरेको थियो ।

आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा आकाश र पूजासंगै सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङ लगायतको अभिनय रहेको छ । दार्जिलिङ, सिक्किम र नेपालको जीवन र प्रेमकथा चित्रण गरेको फिल्मलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । निमेष प्रधान निर्देशित फिल्मको कथा तथा पटकथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् ।

कोरोना महामारीअघि भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायांकन भएको फिल्ममा शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन र कमल राईको कोरियोग्राफी छ । शिशिर राणा र निमेष प्रधानले मिलेर फिल्मको संवाद लेखेका हुन् । निर्देशक प्रधानले आफूले युवा पुस्तालाई लक्षित गरेर फिल्म बनाएको जानकारी दिए । यो उनको डेब्यू निर्देशित फिल्म हो ।

For More videos Log on to Mazzako TV