सौगात, बुद्धि र दियाको ‘मन्त्र’, यस्तो छ ट्रेलर
अभिनेता सौगात मल्ल, बुद्धि तामाङ र अभिनेत्री दिया पुन अभिनित फिल्म ‘मन्त्र’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै हिमाली प्रेमकथामा आधारित ट्रेलर सार्वजनिक गरिएको हो ।

गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको फिल्मका निर्देशक खिल बहादुर गुरुङ हुन् । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ । फिल्म आउँदो बैशाख १६ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने छ ।

हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ । करिब ५१०० मिटर भन्दा माथिको उचाइ मनास्लु हिमालको बेस क्याम सम्म पुगेर निकै नै मेहनतका साथ चलचित्रको छायाँकन गरिएको निर्देशक खिल बहादुर गुरुङले बताए ।
फिल्म गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको फिल्मका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ, बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ ।

फिल्ममा सौगात, बुद्धि, दियासंगै नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’ मा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह–निर्देशन रहेको फिल्ममा सह निर्माताको रुपमा भिमसेन केसी र बिशेष सहयोगी अमृत थापा रहेका छन् ।
साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ ।








