फुटबल गोलकिपर एन्जिलाको जिवनीमा फिल्म ‘अन्जिला’ निर्माण हुने
महिला राष्ट्रिय फुटबलकी गोलकिपर एन्जिला तुम्बाफोको जीवनमा आधारित फिल्म निर्माण हुने भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘अन्जिला’ को औपचारिक निर्माण घोषणा गरिएको हो । फिल्मको मुख्य भुमिकामा एन्जिला स्वयंले नै अभिनय गर्नेछिन् ।

मिलन चाम्स निर्देशित फिल्ममा एन्जिलासंगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायतको अभिनय रहनेछ । एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथालाई फिल्ममा जोड दिइने निर्देशक चाम्सले जानकारी दिए ।

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेम कुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्मातामा छन् । विनोद अग्रवाल र राजेश अग्रवाल सह–निर्माता रहेको फिल्मको आउँदो वर्षको जेठ अन्तिमबाट छायांकन हुनेछ ।

यम थापाको कथा रहेको फिल्मलाई सुदीप बरालले खिच्नेछन् । फिल्मको घोषणा सभामा खेलकुद मन्त्री महेश्वर गहतराजसँगै खेलकुद सचिव दीवाकर रेग्मी, आइजिपी शैलेन्द्र खनाल लगायतको पनि उपस्थिति रहेको थियो ।








