प्रिमियरमा ‘चिसो एष्ट्रे’ लाई मज्जाको प्रतिक्रिया
फिल्म ‘चिसो एष्ट्रे’ लाई सेलिब्रेटीले हलिउड फिल्म जस्तो लागेको प्रतिक्रिया दिएका छन् । मंगलबार साँझ राजधानीमा प्रिमियरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै सेलिब्रेटीले फिल्मको कथा वाचन र दृश्य भाषा हलिउड स्तरको भएको प्रतिक्रिया दिएका छन् ।
प्रिमियरमा उपस्थिति वरिष्ठ कलाकार सन्तोष पन्तले फिल्म हेरेपछि प्रतिक्रिया दिँदै फिल्म हेरिरहँदा आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिएका थिए ।

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोष पन्तको झैं फिल्मलाई हलिउडस्तरको मानेको प्रतिक्रिया दिएका थिए । निर्देशक निश्ल बस्नेतले भने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गर्दै फिल्मको सोचाइ र सोचाइलाई पर्दामा उतार्न निर्देशकले गरेको मेहनत प्रशंसनीय रहेको धारणा राखेका थिए ।

अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट सिनेमा आफ्नो रोजाइमा रहने गरेको बताउँदै फिल्मले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए ।अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्नेभन्दा फिल्म पृथक रहेको बताएका थिए ।

कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ शीर्षकके कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको सिनेमा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको हो । फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ । प्रिमियरअघि भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो ।
कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित चलचित्रलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।








