अष्ट्रेलियामा २७ लाखमा बिक्यो ‘चिसो एष्ट्रे’
चैत ४ अर्थात् आउँदो शुक्रबार प्रदर्शन हुने फिल्म ‘चिसो एष्ट्रे’ को अष्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले अष्ट्रेलियाको कमेरो इभेन्ट्सलाई फिल्म प्रदर्शन अधिकार बिक्री गरेको हो । कमेरोले ३० हजार अष्ट्रेलियन डलरमा अर्थात २७ लाख नेपालीमा प्रदर्शन अधिकार खरिद गरेको ‘चिसो एष्ट्रे’ का निर्माता महेशबाबु तिमिल्सिनाले बताए ।

‘चिसो एष्ट्रे’ ले अन्य नेपाली फिल्मको तुलनामा बढी पैसा पाएको छ । चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाख सम्म पैसा पाएका थिए ।
फिल्ममा दिव्यदेव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नविन लम्साल, सुशील पाण्डे, रविन तामाङ लगायतकलाकारको अभिनय छ । दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्मको ट्रेलरले राम्रो चर्चा पाइरहेको छ ।
कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् । फिल्मको सहनिर्मातामा भने रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा रहेका छन् ।








