गोविन्दलाई अदालतले दियो सफाई
फिल्म निर्माता तथा वितरक गोविन्द शाहीलाई काठमाण्डौको जिल्ला अदालतले सफाई दिएको छ । सामाजिक संजालबाट नै गोविन्दले यो कुराको जानकारी दिएका छन् । मंगलबार उनलाई ठगी मुद्दामा अदालतले क्लिन चिट दिएको हो ।
फिल्म लिलिबिलीको शेयर रकम ८७ लाख ७४ हजार ७ सय ६५ रुपैयाँ नदिएको र नदेखाएको भन्दै वि.सं २०७६ सालको कात्तिकमा यो फिल्मका निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले शाही विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । काठमाण्डौ जिल्ला अदालतले पनि उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । २ साता हिरासतमा बिताएपछि उनलाई बन्दी प्रत्यक्षकरणमा रिहा भएका थिए । तर, प्रहरीले उनलाई फेरि पक्राउ गरेको थियो ।
शाहीले सरकारी पदासिन व्यक्तिको अधिकार दुरुपयोग गरी अरुलाई दुख दिने, अरुलाई विगार्न खोज्नु भन्दा पहिला एकपटक सोच्नुपर्छ भन्दै जवाफ दिएका छन् । उनले, घुमाउरो तरिकाले मिलन र सुदिपमाथि उनले कटाक्ष व्यक्त गरेका हुन् ।








