कृष्णलीला पनि सर्यो, नयाँ बर्षमा छैन फिल्म
यो बर्षको अन्तिम साता अर्थात, नयाँ बर्षको छेकोमा पनि कुनै नयाँ नेपाली फिल्म रिलिज नहुने भएका छन् । जसलेगर्दा, नेपाली फिल्म क्षेत्रले ठूलो घाटा व्यहोर्नुपर्ने भएको छ । नयाँ बर्षलाई नेपाली फिल्मको राम्रो पर्वको रुपमा लिइन्छ । नयाँ बर्षमा रिलिज हुँदा फिल्मले राम्रो कमाई पनि गर्ने गरेका छन् ।

लप्पन छप्पन २ र मनसँग मन सरेपछि कृष्ण लीला मात्र चैत्र २७ गते रिलिज हुने फिल्ममा थियो । तर, अब यो मितिमा कृष्ण लीला नआउने भएको छ । कोरोनाका कारण जोखिम मोल्न नसक्ने भन्दै फिल्मको प्रदर्शन मिति पछि सारिएको छ । दिपक वलीको निर्देशनमा बनेको यो फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्रीको मुख्य भूमिका छ ।
फिल्मको गीतले पनि दर्शकको साथ पाएको थियो । तर, निर्माताले हलहरुले एमजी दिएको खण्डमा फिल्म रिलिज गर्न सक्ने बताएका थिए । तर, हलहरु शेयर प्रतिशत बढाउन सक्ने तर एमजी दिन नसक्ने भन्ने अडानमा रहेपछि फिल्म पोष्टपोन्ड भएको हो । अब, यो बर्ष पनि फिल्म हल सुनसान नै हुने भएको छ । गतबर्ष पनि नयाँ बर्षमा हल बन्द हुँदा ठूलो घाटा लागेको थियो ।








