‘भैसीबाटै हाम फालेर जिमन्यास्टिक सिकें’– निखिल
सर्लाही बाट उदाएर नेपाली कलाकारीता क्षेत्रमा योगदान दिएका, नाम बनाएका कलाकारहरुलाई सर्लाहीमा भब्य सम्मान गरिएको छ । बयलगाडामा नगर परिक्रमा सहितको बिशेष कार्यक्रम ‘स्वर्णिम सम्मान २०७७’ बाट आ–आफ्नो क्षेत्रमा योगदान दिने कलाकारहरु तथा पत्रकारहरुलाई सम्मान गरिएको हो । सर्लाहीको हजरिया खेल मैदनमा आयोजित सर्लाही स्वर्णिम सम्मानमा नायक निखिल उप्रेती सहित १७ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा गायकहरु यस कुमार, शिव परियार, कमल खत्री, त्यस्तै सञ्चारकर्मी नरेश भट्टराई, निर्देशकहरु प्रदिप भटट्राई, सम्झना उप्रेती रौनियार, पुणेन्द्र झा, हाँस्यकलाकार शिवशंकर रिजाल, संगीतकार टिका बम्जन, कलाकारहरु बिजय बराल, कविता नेपाली, रंगपत्रकार प्रदिप कार्की, नबिन गिरी साथै चर्चित गीतकार दिनेश अधिकारीलाई समेत सम्मान गरिएको छ ।

बिशेषत कर्यक्रमको मुख्य आर्कषण भने नायक निखिल उप्रेती नै रहे । उनलाई हेर्ने र उनीसँग सेल्फी खिच्नेको ठुलै भिड लागेको थियो । यता नायक निखिल उप्रेतीले पनि जन्मथलोमा आफु सम्मानित हुन पाँउदा निकै खुशी लागेको भनेर बताएका छन् । सम्मान पाएर आफ्ना प्रशंसकहरुलाई हौसला प्रदान गर्दै गरिबीले सफलता प्राप्त गर्न बाधा नगर्ने भनेर पनि भन्न भ्याएका छन् । ‘म गरिब छु, म केही गर्न सक्दिन भनेर नसोचौं, म पनि भैसी चराएरै हिडेको मान्छे हो, मलाई यो ठाँउमा पुग्न कसैले रोकेन’, निखिलले भने, ‘हामी गरिबीकै कारणले गर्दा सफल हुन सकेनौं भनेर सोचिईरहेका छौ भने यो हाम्रो कमजोरी हो’ ।

कार्यक्रममा आफुले निखिल उप्रेती बन्ने पहिलो प्रयास भैसीबाटै ‘जिमन्यास्टिक’ हानेर गरेको भनेर उनले बताएका छन् । सर्लाही कलाकारहरुको उर्वर ठाँउ भएको भन्दै उनले मेहनत गरे, सफलताको शिखर चढ्न कसैले रोक्न नसक्ने भनेर पनि बताएका छन् । कार्यक्रममा सहभागी कलाकारहरुले आफ्नो आफ्नो प्रस्तुती समेत दिएका थिए ।








