फिल्म क्षेत्र चलाउन सरकारले सहयोग गर्नुपर्छ : भूवन केसी
दश महिनादेखि ठप्प भएको फिल्म क्षेत्र खुलेको छ । तर, चलायमान हुन सकेको छैन । फिल्म क्षेत्र चलायमान नहुँदा फिल्मीकर्मीहरु पनि अन्यौलमा छन् । फिल्म बनेर थुप्रिएका छन्, तर रिलिज गर्ने आँट कसैको पनि छैन । यसले अब, फिल्म क्षेत्र कता जाला, कहिलेबाट दर्शक हलमा आउलान् भन्ने पनि देखिएको छ ।

अभिनेता भूवन केसीले भने फिल्म क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले नै सहयोग गर्नुपर्ने बताएका छन् । फिल्म लप्पन छप्पन २ को पत्रकार सम्मेलनमा पुगेका भूवनले सरकारसँग फिल्म क्षेत्र चलायमान बनाउनका लागि सहयोगको आग्रह गरे । उनले, सबै मिलेर यो क्षेत्रलाई अगाडि बढाउनुपर्ने भन्दै संचारमन्त्रीसँग फिल्म क्षेत्रका लागि प्याकेज ल्याउनका लागि आग्रह पनि गरे ।
यो क्षेत्रमा धेरै मानिसहरु जोडिएको भन्दै उनले अब उत्साहको वातावरण ल्याउनुपर्ने र यसका लागि लप्पन छप्पन २ ले महत्वपूर्ण भूमिका खेल्ने बताए । भूवन आफैले भने फिल्म पारस बनाउने तयारी गरेका छन् । तर, यो फिल्मको छायांकन सुरु भएको छैन ।








