अवार्ड नपाउँदा मन दुख्छः मलिका महत्त
फुलबुट्टे सारी बोलको गीतको भिडियोमा अभिनय गरेपछि अभिनेत्री मलिका महत्तको चर्चा चुलिएको छ । उनको अभिनेता पल शाहसँग अर्को गीत टाढा भए पनि सार्वजनिक भएको छ । यो गीतलाई पनि दर्शकले रुचाइरहेका छन् । उनै, मलिका दशौं नेफ्टा फिल्म अवार्डको उत्कृष्ट ५ को मनोनयनमा परेकी छिन् ।

उनी, नव अभिनेत्री विधामा यो मनोनयनमा परेकी हुन् । अवार्ड समारोहमा उपस्थित भएकी मलिकाले अवार्डको उत्कृष्ट ५ मा आफू योग्य भएकाले नै परेको हुनुपर्ने बताइन् । सिनेमा यात्राबाट उनी यो विधामा छानिएकी हुन् । अवार्डको उत्कृष्ट ५ मा परेर पनि अवार्ड नपाउँदा कस्तो लाग्छ त भन्ने प्रश्नमा उनले मन चसक्क दुख्ने बताइन् । अवार्ड पाउनकै लागि आफूले काम नगरेको भन्दै उनले सिनेमा क्षेत्रमा आएपछि मात्र आफूले अवार्डमा विभिन्न विधा हुने भनेर थाहा पाएको बताइन् ।
आफूले किन अवार्ड नपाएको होला, म त हकदार थिएँ भन्ने भाव आफूमा आउने उनको भनाई छ । सिनेमा यात्रा पछि उनले पानी फोटोमा काम गरेकी छिन् । आफूलाई अन्य फिल्मको अफर आएपनि कुनैमा टुंगो नलागेको उनले बताएकी छिन् ।








