पुष्प र साम्राज्ञीलाई किन चाहियो बडिगार्ड ?
फिल्मको रिलिजका बेलामा त हलमा पुग्दा वडिगार्डको व्यवस्था नौलो कुरा भएन । तर, फिल्मको छायांकनका क्रममा नै बडिगार्ड । आखिर किन चाहियो त ? अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दिप क्षेत्रीका लागि फिल्म तिम्रो मेरो साथको छायांकनमा बडिगार्डको व्यवस्था गरिएको छ ।

सिनेमाको आउटडोर छायांकनका क्रममा दर्शकबाट छायांकन प्रभावित नहोस् भन्नका लागि बडिगार्ड राखिएको बताइएको छ । यी कलाकारका लागि ४ जना बडिगार्ड छायांकन स्थलमा खटाइएको छ । रमेश एम के पौडेलको निर्देशन तथा निर्माणमा बनिरहेको यो फिल्ममा पटकथा तथा संवाद सविर श्रेष्ठको छ ।
यो फिल्मको छायांकन राजधानीका विभिन्न स्थानमा भैरहेको छ । ६० प्रतिशत छायांकन सकिएको र गीत र केही दृश्यको छायांकन बाँकी रहेको रमेशले बताएका छन् ।








