कलाकारले पारिश्रमिक पाएको चर्चा त नेपाली फिल्म बजारमा खुबै हुन्छ । कलाकारले महंगो पारिश्रमिक लिए भनेर आलोचना पनि खुबै हुन्छ । तर, के कलाकारले पारिश्रमिक नपाएको खबरको चर्चा हुन्छ त ? जबसम्म कलाकार आफै बोल्दैनन्, तबसम्म उनीहरुले पारिश्रमिक नपाएको चर्चा हुने कुरा पनि भएन । तर, आन्तरिक रुपमा यो कुरा सिनेमा क्षेत्रको ठूलो समस्या हो ।

कलाकारले पारिश्रमिक नपाएको भनेर बारम्बार गुनासो गरेपनि उनीहरु मिडियासँग खुशीको अनुहार देखाउँछन् । सिनेमा क्षेत्रमा यस्ता कैयौ कलाकार छन्, जो पारिश्रमिक नपाएर पीडित छन् । अभिनेता पल शाहले यस्तै एउटा समस्या उजागर गरेपछि यो कुराले चर्चा पाएको छ । पल शाह जस्ता कलाकारले त पारिश्रमिक नपाएको भनेर सामाजिक संजाल र मिडिया गुहार्नुपर्ने अवस्था आउँछ भने, अरु कलाकारको हालत के होला ?

पल शाहले प्रश्नै प्रश्न सोझाएर पारिश्रमिक नपाएको लेखेका छन् । पलले के तपाइले आफूले काम गरेको सिनेमाबाट पारिश्रमिक पाउनु भएको छ त भनेर प्रश्न गरेका छन् । पलले, सिनेमाबाट पारिश्रमिक नपाउँदा तपाइले निर्माता र निर्देशकको चाकडी कती गर्नुपरेको छ भनेर पनि सोधेका छन् । यति मात्र होइन, पलले सिनेमा क्षेत्रमा पारिश्रमिक नपाएर कैयौ कलाकार डिप्रेशनमा जान सक्ने समेत बताएका छन् ।

उनले, अन्य ठाउँबाट ऋण ल्याएर पारिश्रमिक पाएपछि तिरौला भन्ने सोच राखेर काम गर्ने कलाकारलाई यस्तो अवस्थामा मानसिक रुपमा कस्तो समस्या हुन्छ भनेर पनि सोधेका छन् । पल शाहले यतिमात्र भनेका छैनन्, उनले सिनेमा नचलेको भन्दै ५० प्रतिशत पारिश्रमिक छुट दिन नभए विस्तारै दिउला भनेर भन्ने निर्माताले नै सिनेमा क्षेत्रमा सबै मिलेर काम गर्नुपर्छ भन्ने गरेको बताएका छन् ।

पल शाहको प्रश्नै प्रश्न भित्र धेरै कुराहरु लुकेका छन् । उनले, सिनेमा क्षेत्रमा एउटा कलाकारलाई कसरी निर्माताले दुख दिन्छन् र उसले आफूले काम गरेपछि पनि पारिश्रमिक कसरी पाउँदैन भन्ने उजागर गरिदिएका छन् ।
धेरै कलाकारले पारिश्रमिक नपाएपछि डबिङ नै नगरेको, कतिपय सिनेमाको प्रचारमा नै नहिडेको उदाहरण धेरै छन् । पल शाहको यो प्रश्नलाई गम्भिर रुपमा लिइएन भने भोली समस्या उत्पन्न हुन सक्छ । यो बिषयमा सबैले सोच्ने कि ?

For More videos Log on to Mazzako TV