के नेपाली सिनेमा क्षेत्रमा परिवारवाद हाबी छ ?
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या र यसपछि बलिउडकमा केही कलाकारले उठाएको प्रश्न सँगै अब यो प्रश्न नेपाली सिनेमाप्रति पनि सोझिन थालेको छ । के साच्चिकै अभिनेता भूवन केसीका छोरा अनमोल केसी स्टारका छोरा भएकै कारण सिनेमामा आएका हुन् । के अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा स्टारको छोरी भएकै कारण सिनेमामा काम पाउन सफल छिन् ?
के यी स्टार कलाकारले अरु कलाकारलाई अवसर नै दिदैनन् । प्रश्न सुरु भएको छ । तर, यो सँगै नेपाली सिनेमामा हुने गरेको ग्रुपिज्मको चर्चा पनि सुरु भएको छ । अभिनेत्री नम्रता सापकोटाले सिनेमा क्षेत्रमा परिवारवाद हाबी भएको बताउँदै बाबु सिनेमा बनाएर छोरोले महंगो पारिश्रमिक लिने गरेको र यसलाई नै हल्ला बनाइने गरेको भनेर कसलाई लक्षित गरेकी होलिन् ?
प्रतिभा भएका कलाकार काम नपाएर बस्नु पर्ने अनी प्रतिभा नै नभएका स्टार कलाकारका छोराछोरीले काम पाउने गरेको भनेर नम्रताले कसलाई भनेकी होलिन् ? नम्रताले जसलाई जसरी भनेपनि सिनेमा क्षेत्रमा परिवारवाद भन्दा पनि समुहवाद हाबी रहेको अभिनेत्री वर्षा सिवाकोटीको तर्क छ । वर्षाले मिडिया र कलाकारको निकटता, समुहगत रुपमा काम गर्ने प्रचलन आदिले गर्दा पनि अरु कलाकार तनावमा रहने गरेको बताएकी छिन् । उनले, आफू पनि केही समय अगाडि डिप्रेशमा थिए भन्दै सिनेमा क्षेत्रमा प्रतिभाको कदर हुने गरेको पनि लेखेकी छिन् ।
आफुले सही स्थानमा बसेर काम गरेको खण्डमा कसैले केही पनि गर्न नसक्ने वर्षाको तर्क छ । वर्षा र नम्रताले जे जस्ता कुरा व्यक्त गरेपनि एउटा कुरा स्पष्ट के छ भने, नेपाली सिनेमामा परिवारवाद भन्दा समुहवाद हाबी छ । एउटाले समुह बनाएर काम गर्दा अरुलाई भित्राउनै नहुने, एउटै टिमसँग काम गरिरहने, अरुलाई अवसर नै नदिने प्रचलन भने यहाँ पनि छ । नेपाली सिनेमाले सिनेमा क्षेत्रलाई परिवारको रुपमा ग्रहण गरेन भने धेरै कलाकारलाई यसले ठूलो तनाव दिने देखिन्छ ।










