भारतीय वेव सिरिज पाताल लोकको एक भागमा देखाइएको दृश्य र संवादले नेपाली कलाकारको मनमा चोट परेको छ । नेपाली चेलिबेटीमाथि अपशब्द पोख्दै उल्लेख गरेको यो शब्दको कलाकारहरुले खुलेरै भर्सना गरेका छन् ।

तर, यो सँगसँगै एउटा प्रश्न पनि उठेको छ, त्यो के भन्दा सामाजिक मिडियामा कलाकारलाई यस्तै शब्द प्रयोग गर्दा सबै जना किन चुप ? सामाजिक संजाल नियाल्ने हो भने, कलाकारलाई प्रयोग गर्ने भाषा उक्त पाताल लोकमा प्रयोग हुने शब्द भन्दा विल्कुल फरक छैन ।

नेपाली अभिनेत्री र मोडलले अझै बढी यस्ता शब्दको सामाना गर्नुपरेको छ । कलाकारका इन्टरभ्यू, तस्वीर, युटुबमा सार्वजनिक भएका कलाकारका भिडियोमा यस्ता शब्द प्रशस्त पाइन्छन् । जुन, नेपाली दर्शकले विश्वको कुनै न कुनै कुनामा बसेर नेपाली कलाकारमाथि प्रयोग गरिरहेका छन् ।

यो कुरामा अभिनेत्री केकी अधिकारी, ऋचा शर्मा, आँचल शर्मा, वर्षा राउत लगायतको एउटै स्वर छ । आखिर, नेपाली अभिनेत्री, मोडल, मिस नेपालहरुमाथि प्रयोग हुने निकै नै तल्लो स्तरको गालीमा किन कसैले मुख खोल्दैन । अभिनेत्री केकी अधिकारीले त भारतीयहरुलाई यस्तो भन्न हामी आफैले नै सिकाएका हौ भनेर प्रश्न नै उठाएकी छिन् ।

ऋचाको पनि कुरा यस्तै छ । हिन्दी वेव सिरिजमा यस्तो शब्द प्रयोग गरियो भन्दै आवाज मात्र उठाउने कि नेपाली चेलिबेटीमाथि प्रयोग हुने यस्ता शब्द आफैले भन्न बन्द गर्ने, सोचनिय बिषय छ । अभिनेत्रीहरुले यस्तो बिषयमा लड्न आवश्यक रहेको बताइसकेका छन् । के तपाई यी अभिनेत्रीहरुको कुरामा सहमत हुनुहुन्छ त ?

For More videos Log on to Mazzako TV