‘गोपी’ को कथाबस्तु माथी श्रम मन्त्री बिष्टको चासो, टिमप्रति ऐक्यवद्धता

माघ १८ गतेबाट रिलिज हुने फिल्म ‘गोपी’ को टिमसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेटेका हुन् ।

उक्त भेटमा विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए ।

फिल्मको कथा बस्तु मन परेकाले टिमसंग साक्षात्कार गर्न चाहेको मन्त्री विष्टले बताए । ‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लागेका मन्त्री विष्टले बताए । ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’ मन्त्री बिष्टले भने ।

भेटघाटका क्रममा उनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए । निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए ।
