‘छक्का पञ्जा’ पछि चार फिल्म फ्लप : के होला ‘किस्मत २’
फिल्म ‘छक्का पञ्जा’ चौथो सातामा प्रदर्शनरत छ । चौथो सातामा आइपुग्दा पुग्दा पनि दिपाश्री निरौला निर्देशित यो फिल्म हेर्न हलमा दर्शकको चाप कम भएको छैन । विशेषगरी शहरका मुख्य-मुख्य केन्द्र तथा मल्टिप्लेक्समा ‘छक्का पञ्जा’ हेर्ने दर्शकको घुइँचो छ । ‘छक्का पञ्जा’ पछि प्रदर्शनमा आएका फिल्महरुले भने व्यापारिक हिसाबमा फ्लपको सामना गर्नु परिरहेको छ ।
‘छक्का पञ्जा’ पछि भदौ ३१ गते फिल्म ‘गाँठो’ प्रदर्शनमा आएको थियो । कलाकार नाजिर हुसेनका काँधमा राखिएको यो फिल्मलाई दोश्रो दिनमा नै मल्टिप्लेक्सबाट उतारियो । यस्तै असोजको पहिलो साता प्रदर्शनमा आएको फिल्म ‘झुम्की’ को पनि व्यापार उत्तम हुन सकेन । अभिनेता दायहाङ राई र अभिनेत्री रिश्मा गुरुङको जोडी पहिलो पटक पर्दामा फ्लप हुन गयो । यसअघि उनीहरुले अभिनय गरेको फिल्म ‘कबड्डी’ र यसको सिक्वेल ‘कबड्डी कबड्डी’ सुपरहिट भएको थियो ।
यता विदेशी भूमिमा खिचिएको सफा फिल्म ‘सफर’ ले पनि दर्शकलाई हलसम्म आकर्षण गर्न सकेन । सञ्चारकर्मी सञ्जय गुप्ताको डेव्यु फिल्म ‘सफर’ व्यापारिक रुपमा असफल भएपनि समिक्षात्मक रुपमा भने राम्रै मानिएको छ । ‘सफर’ सँगै प्रदर्शनमा आएको फिल्म ‘सत्यदिप’ पनि सुपर फ्लप बन्यो । भदौ २४ देखि लगातार भैरहेको फ्लप फिल्मको श्रृङ्खला कहिले रोकिएला ?
आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘किस्मत २’ ले यो श्रृङ्खलालाई रोक्ला ? छविराज ब्यानरको यो फिल्मले दर्शकलाई हलमा आकर्षण गर्ला ? के नायिका शिल्पा पोखरेलले छविराज ब्यानरमा सफलताको ह्याट्रिक हान्लिन् ? यतिबेला फिल्म नगरीमा यस्तै प्रश्न चर्चा र चासो चलिरहेको ।
For More videos Log on to Mazzako TV