‘छक्का पञ्जा’ को टिकट देऊ भन्दै गोपिकृष्णमा दर्शकले लगाए नारा
दोश्रो सातामा पनि फिल्म ‘छक्का पञ्जा’ हेर्न हलमा दर्शकको संख्या उत्साहप्रद देखिएको छ । दर्शकको चाप बढेपछि कतिपय हलले शो पनि थपेका छन् । चावाहिलस्थित गोपिकृष्ण हलमा गत शनिबारको जस्तै यो शनिबार पनि ‘छक्का पञ्जा’ हेर्न आउने दर्शकको संख्या उच्च रह्यो ।
बिहानी शो देखि नै चार वटा हल हाउसफूल भएको गोपिकृष्णमा मध्यान्ह्मा त दर्शकले ‘छक्का पञ्जा’ को टिकट पाउनु पर्ने भन्दै नारा समेत लगाए । ग्राउण्ड भरी भरिएका दर्शकले ‘टिकट चाहियो’ भन्दै चर्को स्वरमा नारा लगाएपछि निर्देशक दिपाश्रीले साँझको शोमा फिल्म हेर्न आग्रह गरेकी थिइन् । बिहानी शो देखि नै हलमा ‘छक्का पञ्जा’ हेर्ने दर्शकको चाप उच्च रहेको जानकारी दिदैं गोपिकृष्ण मुभिजका लाइन म्यानेजर तीर्थ पौडेलले भने, ‘दोश्रो शनिबार चार चार वटा हल दिंदा पनि नपुग्ने दर्शक आएका छन् । कुनै पनि नेपाली फिल्म हेर्न गोपिकृष्णमा यति धेरै दर्शक आएका हुन् ।’ अमिताभ बच्चन स्टारर फिल्म ‘पिंक’ लाई हटाएर ‘छक्का पञ्जा’ लगाउँदा पनि दर्शकलाई टिकट नपुगेको उनले बताए ।
दोश्रो शनिबारसम्म आउँदा ‘छक्का पञ्जा’ ले पाँच करोडको व्यापार गर्न सफल हुने आँकलन छ । कुनै पनि नेपाली फिल्मले एक सातामा यति धेरै उच्च कलेक्सन गरेको सम्भवतः यो नै पहिलो फिल्म हो । दिपाश्रीको पहिलो निर्देशन रहेको फिल्ममा दिपकराज गिरी, प्रियंका कार्की, शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, नम्रता सापकोटा र बर्षा राउतको मुख्य भूमिका रहेको छ ।
For More videos Log on to Mazzako TV