कस्तो होला दयाहाङ र प्रियंकाको ‘ह्याप्पी डेज’ ?
दयाहाङ राई र प्रियंका कार्कीको जोडीलाई लिएर मिलन चाम्सले ‘ह्याप्पी डेज’ नामक फिल्म निर्माण गर्ने भएका छन् । सम्पूर्ण छायाँकन युकेमा हुने यस फिल्ममा आउँदो असोज १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘सफर’ बाट अभिनयमा डेव्यु गरेका सञ्चारकर्मी सञ्जय गुप्ता पनि मुख्य भूमिकामा प्रस्तुत हुनेछन् ।
आफ्नो भूमिका खोल्न नचाहेका अभिनेता दयाहाङ राईले ‘ह्याप्पी डेज’ बन्न लागेको प्रक्रियालाई भने छोटकरीमा सम्झिए । उनले भने, ‘युकेमा ‘वीर विक्रम’ प्रिमियर गर्न जाँदा मिलन दाईले मलाई यो फिल्म बारे कुरा गर्नु भएको थियो । उहाँको काम गर्ने टिमसँग कुरा गराएर ढुक्क बनाएपछि मात्रै म राजी भएँ । सुरुमा त विदेशमा सुटिङ गर्ने भन्दा डराएको थिएँ ।’ आफ्नो भूमिका अनुसारकै ड्रेसअपमा प्रेसमिटमा सहभागी भएकी नायिका प्रियंका कार्कीले आफ्नो भूमिकाबारे छोटकरीमा भनिन्, ‘युकेमै हुर्किएको कुल अनि ह्याप्पी लाइफ भएको युवतीको भूमिकामा प्रस्तुत हुँदैछु ।’
यता सञ्जयले दाम कमाउन युके जाने युवाको भूमिकामा प्रस्तुत हुन लागेको खुलाए । निर्देशक मिलन चाम्सले स्क्रिप्ट अनुसारको कलाकार पाएकोमा खुसी व्यक्त गरे । उनले भने, ‘दया र प्रियंकासँग काम गर्ने धोको थियो त्यो पूरा भएको छ । फिल्म राम्रो बन्नेछ ।’ फिल्मको सुटिङ एक महिनापछि युकेबाट सुरु हुनेछ ।
यम थापाको लेखन रहेको फिल्म ‘ह्याप्पी डेज’ मा ताराप्रकाश लिम्बुको संगीत र सम्राट बस्नेतको द्धन्द्ध निर्देशन रहनेछ । रामकुमार केसी र कोलिन पिककको संयुक्त सिनेम्याटोग्राफी रहने फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् । चाम्स इन्टरटेनमेन्टको प्रस्तुती रहने ‘ह्याप्पी डेज’ मा विपी खनाल, भवानी शर्मा, हिराल जोशी र अशोक बंशाल निर्माताको रुपमा रहनेछन् ।
For More videos Log on to Mazzako TV