‘बृन्दावन’ निर्देशकले लगाए शिल्पा पोखरेल माथि यस्तो आरोप
फिल्म ‘बृन्दावन’ का निर्देशक राजबहादुर सानेले नायिका शिल्पा पोखरेलसँग गुनासो पोख्दै आरोप समेत लगाएका छन् । फिल्म प्रदर्शनको मुखमा आयोजना गरिएको कार्यक्रममा सहभागी नभएपछि निर्देशक सानेले नयाँ निर्मातालाई शिल्पाले हेपेको र पुराना निर्मातालाई च्यापेको आरोप लगाएका हुन् ।
पुराना निर्माता अर्थात् निर्माता छविराज ओझाप्रति लक्षित गर्दै निर्देशक सानेले भने, ‘यो मितिमा बृन्दावन नचलोस् भन्ने उहाँहरुको चाहना थियो । त्यसैले हामीले गरेको कुनै पनि कार्यक्रममा शिल्पा जी आउनु भएको छैन ।’ फिल्म निर्माण पक्षले कुनै पनि कुरा बाँकी नराखेको भन्दै निर्देशक सानेले गुनासो पोखे, ‘हामी नयाँ पर्यौं । त्यसैले हेप्नु भएको होला । माया त पुरानैको लाग्छ नि ।’ फिल्म सफल भएको खण्डमा नायक किशोर खतिवडा र नायिका पोखरेललाई क्रेडिट समेत नदिने निर्देशक सानेले बताए ।
निर्देशकको गुनासो र आरोप बारे बुझ्न खोज्दा नायिका शिल्पा पोखरेल सम्पर्कमा आउन चाहिनन् । ‘बृन्दावन’ निर्माण युनिटले सोमबार राजधानीमा तीज उत्सव कार्यक्रमको आयोजना गरेको थियो । जुन कार्यक्रममा किशोर र शिल्पा आउँछु भनी वाचा गरेको निर्देशकले बताए । तर, कार्यक्रम सुरु भैसकेपछि नायक खतिवडा सम्पर्कमा नआएको र नायिका पोखरेल बिरामी भएको बाहाना बनाएको निर्देशक सानेले बताए । ट्रेलर हेर्नुस् :