४२ लागिन् दीपाश्री निरौला : हेर्नुस् सुरुवाती दिनका उनका केही तस्बिर
दिपाश्री निरौला हाँस्य व्याङ्ग्य क्षेत्रमा चर्चित नाम हो । वि.स २०३२ साल भदौ ७ गते विराटनगरको कोशी अञ्चल अस्पतालमा माता गीतदेवीको कोखबाट जन्मिदा उनी ४ केजीकी थिइन् । अस्पतालले बढी वजन भएको बच्चा जन्माउने आमा गीतदेवीलाई पाँच सय नगद सहित सम्मान समेत गरेको थियो ।
तर ती साहसी आमाको ४२ वर्षकै उमेरमा निधन भयो । दिपाश्री ०७३ सालदेखि ४२ मा वर्षमा टेकेकी छिन् । आमाको निधन पछि पिता तुलसी प्रसाद निरौलाले दोश्रो बिहे गरे । दुई आमाको कोखबाट अहिले दिपाश्रीका दुई दाजुभाई, दुई दिदी र एक बहिनी छन् ।
दिपाश्रीले वि.स. २०४२ सालदेखि रंगमञ्चबाट आफ्नो रंगीन जीवन सुरु गरेकी हुन् । रंगमञ्चमा उनले पहिलो पटक पुरुषको भेषमा नृत्य प्रस्तुत गरेकी थिइन् । ठुलो पर्दामा भने ‘नासो’ नामक फिल्मबाट दिपाश्रीले आफ्नो करिअर सुरु गरिन् । उनले झण्डै एक दर्जन नेपाली फिल्ममा अभिनय गरेकी छिन् ।
सानो पर्दाको हाँस्य व्याङ्ग्य साप्ताहिक टेलिफिल्म ‘तीतो सत्य’ सुरु गरेपछि भने दिपाश्रीले पछाडी फर्केर हेर्नु परेन । दीपकराज गिरीसँग जोडी बाँधेर ‘तीतो सत्य’ को निर्माण, निर्देशन तथा अभिनय गर्न थालेपछि दिपक र दिपाको जोडी जम्न पुग्यो । देश तथा विदेशमा आयोजना हुने कार्यक्रमहरु आसम्म पनि उनीहरुको माग छ । पछिल्लो केही वर्षदेखि भने दीपक र दिपा सानो पर्दाबाट ठुदो पर्दातिर सरेका छन् ।
दिपाश्री र दीपकले ‘६ एकान ६’, ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ गरी तीन फिल्महरु निर्माण गरिसकेका छन् । पछिल्लो फिल्म ‘छक्का पञ्जा’ लाई दिपाश्री स्वयमले निर्देशन गरेकी छिन्, जुन फिल्म यही भदौ २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । सरल स्वभावकी दिपाश्रीले लामो संघर्षपछि यो स्थानसम्म आइपुगेकी हुन् । संघर्षबाट सफलता प्राप्त गरेकी दिपाश्रीलाई मज्जाको डटकम परिवार जन्मदिनको शुभकामना व्यक्त गर्दछ । शब्द : उत्सब रसाईली