पहिलो पटक दिपेन्द्रको पूर्ण प्रेम कथा ‘लभ लभ लभ’
निर्देशक दिपेन्द्र के.खनालले पहिलो पटक पूर्ण लभ स्टोरी फिल्म ‘लभ लभ लभ’ निर्देशन गर्ने भएका छन् । दिपेन्द्रकै लेखन रहेको फिल्ममा स्वस्तिमा खड्का र सुरज पाण्डे मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । अमृत पाण्डेको प्रस्तुती रहने फिल्मको यही भदौ ९ गतेदेखि छायाँकन सुरु हुनेछ ।
आइतबार प्रेसमिट गर्दै ‘लभ लभ लभ’ निर्माणको औपचारिक घोषणा गरिएको हो । कार्यक्रममा निर्मात्री सर्मिला पाण्डेले स्वागत मन्तव्य राखेकी थिइन् । यस्तै निर्देशक तथा लेखक खनालले आफुले चाहेजस्तो लभ स्टोरी फिल्म निर्माण गर्न लागेको बताए । उनले भने, ‘फिल्ममा सानो कुरामा ठुलो इमोसन छ ।’ दिपेन्द्रको फिल्ममा अग्रज कलाकारहरु देशभक्त खनाल, लक्ष्मी भूषाल, रमेश बुढाथोकी र रुपा राणाको पनि अभिनय रहनेछ ।
निरज कंडेलको छायाँकन रहने फिल्म ‘लभ लभ लभ’ मा सुरेश राईको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहनेछ । फिल्मको सम्पूर्ण जसो छायाँकन पोखरामा हुनेछ । खनाल निर्देशित पछिल्लो फिल्म ‘चपली हाईट २’ प्रदर्शनरत छ ।