सालिनदी मन्दिरमा रेखाले यसरी मनाइन् जन्मदिन (फोटो फिचर)
नायिका रेखा थापाले आफ्नो जन्मदिन (भदौ ५ गते) साँखुस्थित सालिनदी मन्दिरमा मनाएकी छिन् । मन्दिरका पूजारी तथा भक्तजन, त्यहाँका स्थानिय, आफन्त र सञ्चारकर्मीबिच रेखाले जन्मदिनको केक काटिन् । रेखाले मन्दिरको रंगरोगन समेत आफैंले गरेकी थिइन् । जन्मदिनको पहिलो केक उनले आफ्नी आमालाई खुवाइन् ।
मन्दिरमा केक काट्नुको कारण बारे रेखाले भनिन्, ‘म यहाँ पहिला पनि आइरन्थें । यहाँ आएपछि मनमा आनन्द आउँछ । यो मन्दिर अहिले मेरो घर भएको छु’ उनले जोडिन्, ‘जन्मदिनको केक घरमै काटौंभनेर काटेको हुँ ।’
यस्तै आफ्नो जन्मदिनमा रेखाले तीन जना दृष्टिविहिन युवाहरुलाई आर्थिक सहयोग समेत गरिन् । उनले २५ हजार रुपैयाँ उनीहरुलाई दिइन् । राजधानी बसेर अगरवत्ती उत्पादन गर्ने उनीहरुले रेखालाई दिदी मान्दै आइरहेका छन् । रेखाको उक्त आर्थिक सहयोग उनीहरुले आफु जस्तै दृष्टिविहिन युवाहरुको सहयोगमा लगाउने बताए ।
रेखाले त्यहाँका सम्पूर्ण स्थानियलाई भोजन समेत गराएकी थिइन् । रेखाको जन्मदिनमा भजन कृतन सहित नेवारी बाजा पनि बजाइएको थियो । धार्मिक रुपमा रेखाले कति औं जन्मदिन मनाइन् त ? ‘राम प्यारी’ ले भनिन्, ‘उमेर त गन्नै भूलेछु !’
सविन श्रेष्ठले निर्माण गर्दै गरेको फिल्म ‘हिरो रिन्टर्स’ को छायाँकनमा व्यस्त रेखा होम प्रोडक्सनबाट फिल्म निर्माणको तयारीमा छिन् । नेपाली फिल्म क्षेत्रमा हिरो सरह मानिने रेखालाई जन्मदिनको शुभकामना !